२६ कात्तिक,धनगढी । जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चार माध्यमको भूमिकाबारे प्रदेशस्तरीय छलफल कार्यक्रम धनगढीमा सम्पन्न भएको छ। कार्यक्रमको आयोजना सामुदायिक रेडियो प्रशारक संघ (सीआईएन) ले गरेको हो।
कार्यक्रममा कृषि क्षेत्रको रिपोर्टिङको अवस्था, चुनौती र अवसर लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) सम्बन्धी जानकारी सञ्चार विज्ञ संघर्ष भट्टराईले प्रस्तुत गरेका थिए।
त्यस्तै, सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी राजकुमार झाले मन्त्रालयबाट सञ्चालन भइरहेका कृषि कार्यक्रमबारे जानकारी दिँदै किसानलाई प्रोत्साहन गर्न विभिन्न अनुदानका कार्यक्रम सञ्चालन भइरहेको बताए।
कृषि विकास निर्देशनालय डोटीका निमित्त प्रमुख टिकेन्द्र कुश्मीले सुदूरपश्चिमका कृषि समस्या र चुनौतीबारे प्रस्तुतिकरण गर्दै खेतीयोग्य जमिनको खण्डिकरण, श्रम अभाव, बढ्दो लागत, घट्दो नाफा र बजार पहुँचको कमीलाई मुख्य समस्या बताए। उनले जलवायु परिवर्तनको असर र कृषि क्षेत्रमा बैंक तथा निजी क्षेत्रको लगानी न्यून रहेको उल्लेख गर्दै प्रदेशको ८४ प्रतिशत जनसंख्या कृषिमा निर्भर रहेको जानकारी दिए।
कार्यक्रममा बाली विज्ञ प्रशान्त पन्तले केराखेतीको अवस्था, रोग र चुनौतीबारे चर्चा गरे भने सञ्चार विज्ञ तुला अधिकारीले युवालाई कृषिमा आकर्षित गर्न सञ्चार माध्यमको भूमिकाबारे प्रस्तुतिकरण गरे।
छलफलको क्रममा प्यानल डिस्कसन पनि गरिएको थियो, जसमा कृषि ज्ञान केन्द्र कैलालीका वरिष्ठ कृषि प्रसार अधिकृत टेकबहादुर बिष्ट, युवा उद्यमी सुशीला बिष्ट र युवाको तर्फबाट यज्ञश्वरी बोगटी सहभागी थिए।
प्यानलमा बोल्दै अधिकारी बिष्टले पछिल्लो समय स्थानीय उत्पादन बढ्दै गएको र पहाडी जिल्लाबाट तराईमा तरकारी आपूर्ति हुन थालेको बताए।
युवा उद्यमी सुशीला बिष्टले आफूले फूलखेती गर्दै आएको र आम्दानी राम्रो भए पनि तालिम र बीउबिजनको अभावले चुनौती भोग्नुपरेको बताइन्। त्यस्तै, यज्ञश्वरी बोगटीले युवाको सहभागिता बढ्दो भए पनि पर्याप्त प्रतिफल नपाउँदा युवा पलायन बढेको उल्लेख गर्दै सरकारले युवालाई कृषिमा आकर्षित गर्ने नीति ल्याउनुपर्ने सुझाव दिइन्।
कार्यक्रममा सहभागीहरूले जलवायु परिवर्तन र कृषि क्षेत्रबीचको सम्बन्धमा सचेतना अभिवृद्धि गर्दै सञ्चार माध्यमले कृषिमा सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।

















