Logo

२६ कार्तिक,सेढवा।पर्साको ग्रामीण भेगमा यस वर्षको धानबाली भित्र्याउने कार्य तीव्र गतिमा भइरहेको छ। केही सातादेखि मौसममा सुधार आएपछि सोना मंसुली, मनी मंसुली, कतरनी र हाइब्रिड जातका धानबाली किसानहरूले उत्साहका साथ भित्र्याउन थालेका छन्।

धान कटानीका क्रममा अहिले किसानहरूले आधुनिक कृषि यन्त्रहरूको प्रयोग उल्लेख्य रूपमा बढाएका छन्। अधिकांश किसानहरूले हार्भेस्टर मेशिन प्रयोग गरी खेतमै धान काटी दाई (थ्रेसिङ) गरी ट्र्याक्टरमा लोड गर्दै ल्याउने गरेका छन्। यससँगै केही किसानहरूले रिपर मेशिनको प्रयोग गरी बाली कटानी गरिरहेका छन्। पशुपालन गर्ने वा पराल बिक्री गर्ने किसानहरूले रिपरबाट बाली काटी थ्रेसर मेशिनमार्फत दाई गरेर पराल सुरक्षित राख्ने गरेका छन्।

यस वर्ष धान उत्पादनमा उल्लेख्य कमी आएको किसानहरूको गुनासो छ। रोपाइँदेखि बाला निस्किने अवधिसम्म परेको खडेरीका कारण उत्पादनमा १५ देखि ३० प्रतिशतसम्म गिरावट आएको जिराभवानी गाउँपालिका–२ का किसान महेश चौधरीले जानकारी दिए।
उनका अनुसार गत वर्ष प्रति कट्ठा साढे छ मन (२ क्विन्टल ६० किलो) उत्पादन भएकोमा, यस वर्ष चार मन (१ क्विन्टल ६० किलो) मात्र धान उत्पादन भएको छ।

मूल्यमा गिरावट, किसान चिन्तित

धान सिजन सुरु भएसँगै बजारमा मूल्यमा पनि भारी गिरावट आएको छ। जिराभवानी गाउँपालिका–४ सुपौलीका किसान रामराज दासका अनुसार व्यापारीहरूले अहिले मनी मंसुली धान २,६०० रुपैयाँ र सोना मंसुली धान २,७०० रुपैयाँ प्रति क्विन्टलका दरले खरिद गर्दै आएका छन्।
गत वर्ष भने मनी मंसुली ३,१०० रुपैयाँ र सोना मंसुली ३,२०० रुपैयाँ प्रति क्विन्टलमा बिक्री भएको थियो।

धानको मूल्य घटेपछि किसानहरू आगामी गहुँबालीका लागि थप समस्यामा पर्ने चिन्ता व्यक्त गरिरहेका छन्। बीउ–बिजन, रासायनिक मल, खनजोत, किटनाशक औषधि र सिँचाइ खर्च बढ्दो क्रममा हुँदा उत्पादन लागत धानको आम्दानीले नटेग्ने अवस्था आएको किसान दासले बताए।

सरकारले तोकेको समर्थन मूल्य

कृषकको हितका लागि सरकारले चालू वर्षका लागि धानको समर्थन मूल्य तोकेको छ —

  • मोटो धानको मूल्य: ३,४०० रुपैयाँ प्रति क्विन्टल

  • पातलो धानको मूल्य: ३,६०० रुपैयाँ प्रति क्विन्टल

तर बजारमा व्यापारीहरूले सरकारी मूल्यभन्दा सयौं रुपैयाँ कम दरमा खरिद गरिरहेका कारण किसानहरू आक्रोशित छन्। उनीहरूले सरकारले बजार अनुगमन र मूल्य स्थिरीकरणमा तुरुन्त कदम चाल्नुपर्ने माग गरेका छन्।


सम्बन्धित समाचार