२ मंसिर, काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँले ४ दिनको म्याद थप गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार म्याद थप भएसँगै प्रसाईँ अब कम्तीमा ४ दिन प्रहरी हिरासतमा रहनेछन् । प्रसाईँले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने र सार्वजनिक शान्तिमा खलल पुग्ने गरी भड्काउपूर्ण अभिव्यक्ति दिएका कारण प्रहरीले उनलाई हिरासतमै राखेर अनुसन्धान अघि बढाएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले उनलाई आन्दोलनको तयारी तीव्र पारिरहेकै बेला पक्राउ गरेको थियो। प्रहरीले प्रसाईँको हर्कतले देशमा हिंसा भड्किन सक्ने विश्लेषणपछि यो कदम चालेको हो ।















