Logo

८ मंसिर, काठमाडौं । नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको ‘उज्यालो नेपाल पार्टी’ले आफ्नो सांगठनिक विस्तारलाई औपचारिक रूपमा सुरुवात गरेको छ।

पार्टीका संरक्षक तथा वर्तमान ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङको नेतृत्वमा बनेको यस दलले बागमती प्रदेशमा आफ्नो पहिलो प्रदेश कमिटी गठन गरेको हो । मंसिर ५ गते निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेपछि फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई केन्द्रित गर्दै ‘उज्यालो नेपाल’ ले आफ्ना गतिविधिहरू तीव्र बनाएको छ ।

यसै क्रममा, सोमबार इन्द्रेणी बैंक्वेटमा सम्पन्न प्रदेशस्तरीय भेलाले प्रविण तामाङको संयोजकत्वमा ७५ सदस्यीय बागमती प्रदेश अधिवेशन आयोजक कमिटी गठन गरेको पार्टीका नेता जीतराम वाइबाले जानकारी दिएका छन् । वाइबाका अनुसार बागमती प्रदेशबाट सुरु भएको यो सांगठनिक अभियान अब अन्य प्रदेशहरूमा पनि विस्तार गरिनेछ ।

यो भेलामा तीन मन्त्रालयको नेतृत्व सम्हालिरहेका मन्त्री कुलमान घिसिङ स्वयं उपस्थित भई कार्यकर्ताहरूलाई सम्बोधन गरेका थिए। पार्टीको तयारी अनुसार, घिसिङले आगामी निर्वाचनमा उम्मेदवारी मनोनयनको समयमा मात्र मन्त्री पदबाट राजीनामा दिएर ‘उज्यालो नेपाल’ को प्रत्यक्ष नेतृत्व सम्हाल्ने तयारी रहेको बताइएको छ ।

जेनजी आन्दोलनपछि दर्ता भएका नयाँ दलहरूमध्ये, प्रदेश कमिटीसम्म संरचना विस्तार गर्ने ‘उज्यालो नेपाल पार्टी’ पहिलो बनेको छ। पार्टीले यही मंसिर १७ गते १२ बजे प्रज्ञा भवन, कमलादीमा आफ्नो औपचारिक पार्टी घोषणा सभा आयोजना गर्ने तयारी गरेको छ ।


सम्बन्धित समाचार
भर्खरै