१० मंसिर, काठमाडौँ । दल दर्ताको आज अन्तिम दिन हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबीच एकता प्रयास तीव्र बनेको छ ।
निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि आज मंसिर १० गतेसम्मको समय सीमा तोकेकाले दुबै दलले अन्तिम चरणमा राजनीतिक समायोजनका सम्भावनामा छलफल जारी राखेका हुन्।
दुवै दलका वरिष्ठ नेताहरूका अनुसार आज दुवै पक्षलाई एउटै शक्तिका रूपमा दर्ता गराउने लक्ष्यसहित काठमाडौँमा निरन्तर संवाद भइरहेको छ। रास्वपाबाट उपसभापति स्वर्णिम वाग्ले र सचिवालय सदस्य शिशिर खनाल, तथा उज्यालो नेपालबाट प्रवक्ता सूर्य थापा, गणेश घिसिङ र अध्यक्ष कुलमान घिसिङ स्वयं वार्तामा संलग्न छन्।
रास्वपाका एक वरिष्ठ नेताले भने, “आज ब्रेकथ्रु खोज्ने प्रयासमा छौँ। घिसिङजीसँग र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहको टिमसँग समेत छलफल भइरहेको छ। सफल भए दुवै दल एउटै संरचनामा जाने योजना छ।”
उज्यालो नेपाल पार्टी गठन गर्नु अघि कुलमान घिसिङले रास्वपासँग एकता गर्न कार्यकारी सभापति पद मागेका थिए। रास्वपाले उक्त प्रस्ताव अस्वीकार गरेपछि उनले पूर्वऊर्जासचिव अनुप उपाध्यायलाई अध्यक्ष बनाएर उज्यालो नेपाल पार्टी दर्ता गराएका थिए।
तर पछिल्ला वार्तामा घिसिङ लचक रूपमा प्रस्तुत भएपछि दुबै पक्षबीच सहकार्यको सम्भावना धेरै बढेको रास्वपाका सचिवालय सदस्यहरू बताउँछन्।
वार्तामा रहेका एक अधिकारीका अनुसार, अब ‘मध्यवर्ती प्रस्ताव’माथि छलफल भइरहेको छ। उनले भने “कुलमानलाई चुनावपछि संसदीय दलको नेता बनाउने र टिकट वितरणमा दुवै दलले संयुक्त सहमति गर्ने सूत्र प्रस्ताव गरिएको छ। यसले विश्वसनीयता बढाउने छ भन्ने सोच छ।”
चिह्न र नाममा धेरै हदसम्म सहमति
वार्ता नजिकबाट हेर्दै आएका उज्यालो नेपाल पार्टीका एक नेताका अनुसार चुनाव चिह्न ‘घण्टी’ कायम गर्ने प्रस्तावमा दुवै पक्ष सकारात्मक छन् । नामका विषयमा ‘उज्यालो नेपाल’लाई कतै समेट्ने सुझाव मात्र बाँकी रहेको उनीहरूको भनाइ छ।
तर, संगठन संरचना, जिम्मेवारी बाँडफाँड, उम्मेदवार छनोट प्रक्रिया जस्ता संवेदनशील विषयमा सहमति जुटाउन अझ समय लाग्ने नेताहरू बताउँछन्। “एक–दुई जनाको व्यवस्थापनले मात्र कुरा मिल्दैन, सहमतिका पूरा प्याकेज आवश्यक छ,” एक नेताले बताए।
काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहसँग निकट रहेका सहयोगीहरू, विशेष गरी कुमार बेन, दुवै पक्षलाई नजिक ल्याउन सक्रिय देखिएका छन्। उज्यालो नेपालका नेताहरूले पनि बालेन्द्र शाहको ‘प्रत्यक्ष समर्थन’ आफूहरूलाई रहेको दाबी गर्दै आएका छन्।
मंसिर ५ गते दल दर्ता प्रमाणपत्र पाएपछि उज्यालो नेपाल पार्टीले छिटो संगठन विस्तार जारी राखेको छ। सोमबार मात्र बागमती प्रदेश कमिटी घोषणा गरिएको छ, जहाँ कुलमान घिसिङको प्रभाव बढी मानिन्छ। पार्टीले मध्यम–राष्ट्रव्यापी विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ।
रास्वपाका सचिवालय सदस्य शिशिर खनालले एकता सम्भव नभए पनि आगामी चुनावमा सहकार्यका विकल्प खुला रहेको बताए।
उता, उज्यालो नेपालले पूर्वमन्त्री सुमना श्रेष्ठसँग पनि पुनः संवाद सुरु गरेको छ। नेतृत्व र चिह्नका विषयमा मतभेदपछि घिसिङसँग दूरी बढाएकी श्रेष्ठ सोमबार साँझ पुनः भेटवार्तामा सहभागी भएकी बताइएको छ।
उज्यालो नेपाल पार्टीले डा. तारा जोशीको नेतृत्वमा विभिन्न पार्टीहरूसँग संवाद समिति बनाएको छ। जोशीका अनुसार, “सीके राउतको जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, हर्क साम्पाङको श्रम–संस्कृति पार्टीसँग पनि सहकार्यका सम्भावना खोजिँदैछ।”
मंगलबार साँझसम्म धेरै विषयमा प्रगति भए पनि बुधबार बिहानसम्म वार्ताले निरन्तरता नपाउँदा एकता सम्भावना केही कमजोर देखिएको उज्यालो नेपालका प्रवक्ता सूर्य थापाले बताए।
तर उनले अन्तिम घडीमा सहमति हुने सम्भावनालाई पूर्ण रूपमा नकारेनन्। उनका अनुसार, “हाम्रो राजनीतिक संस्कृतिमा अन्तिम क्षणमै निर्णय गर्ने चलन छ। त्यसैले ब्रेकथ्रु नकार्न सकिन्न, तर अहिलेसम्म ठोस नतिजा आएको छैन।”
















