१० मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुलुकको अर्थ–राजनीतिक संरचनामा आमूल परिवर्तन ल्याउन सक्ने सामर्थ्य निर्माण गर्नका लागि सबै वैकल्पिक शक्तिहरूलाई एकजुट हुन औपचारिक आह्वान गरेको छ ।
पार्टीको सचिवालय बैठकले विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरूसँग भइरहेका संवादको प्रगतिबारे उच्च संवाद समितिको ब्रिफिङ सुनेपछि यो महत्त्वपूर्ण निर्णय लिएको हो । रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार, केन्द्रीय समितिको मंसिर ३ गतेको बैठकको निर्देशनानुसार सुशासन र द्रूत विकासप्रति समर्पित सबै वैकल्पिक शक्तिहरूबीच सम्भाव्य राजनीतिक ध्रुवीकरण र सहकार्यलाई तार्किक निष्कर्षमा पुर्याउन सचिवालयबाट आवश्यक सहजीकरण गरिने भएको छ ।
यस बैठकले पार्टीभित्रका सांगठनिक संरचनामा पनि केही महत्त्वपूर्ण निर्णयहरू गरेको छ। केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय लेखा आयोगमा रिक्त पदपूर्तिका लागि केन्द्रीय समिति सदस्यहरूबाट योग्य पात्रहरूको नाम सिफारिस गर्न अनुरोध गर्ने निर्णय भएको छ। साथै, प्रदेश इन्चार्जको भूमिका निर्वाह गर्दै आएका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद दिँदै आगामी निर्वाचन केन्द्रित गतिविधिमा नयाँ जिम्मेवारी दिने र प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरिएको छ ।
यसबाहेक, पार्टीको सांगठनिक सञ्जाललाई थप चुस्त बनाउन सबै पालिकामा ‘र्यापिड एक्सन टिम’ गठन गर्न प्रदेश एवं जिल्ला संगठनलाई निर्देशन दिने निर्णय भएको छ।
कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनका आधारमा पार्टी विधानको धारा ७० बमोजिम कीर्तिपुर नगर समिति विघटन गर्ने निर्णय पनि सचिवालयले गरेको छ।
















