१० मंसिर, काठमाडौं । नेकपा एमालेको आगामी ११औँ महाधिवेशनको तयारीले अन्तिम रूप लिएको छ। पार्टीले महाधिवेशनको उद्घाटन सत्रका लागि स्थल परिवर्तन गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, मंसिर २७ गते हुने महाधिवेशनको उद्घाटन सत्र अब काठमाडौँको भृकुटीमण्डपमा नभई भक्तपुरको सल्लाघारीस्थित खुलाचौरमा हुनेछ। काठमाडौँको भृकुटीमण्डपमा ठाउँ साँघुरो हुने भएपछि उद्घाटन सत्रलाई व्यापक सहभागिताका लागि भक्तपुर सार्ने निर्णय गरिएको हो। यद्यपि, महाधिवेशनको बन्द सत्र भने पूर्व निर्धारित स्थान भृकुटीमण्डपमै हुनेछ ।
महासचिव शंकर पोखरेल संयोजक रहेको महाधिवेशन सचिवालय समितिको बैठकले यो निर्णय गरेको हो । यसैगरी, बैठकले महाधिवेशनको मुख्य नारा पनि तय गरेको छ, जुन ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ रहेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिएका छन् ।
















