Logo

१२ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसभित्र चलिरहेको महाधिवेशन विवाद समाधानतर्फ उन्मुख नदेखिएको संकेत फेरि प्रष्ट भएको छ। बिहीबार साँझ सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा बसेको शीर्ष तहको छलफल पनि कुनै निष्कर्षमा पुग्न नसकेपछि पार्टीभित्रको अन्तरद्वन्द्व थप चर्किएको छ।

वैठकमा महामन्त्री गगनकुमार थापाले सभापति देउवालाई प्रत्यक्ष आग्रह गर्दै विशेष महाधिवेशन नै अहिलेको एकमात्र समाधान भएको बताएका थिए। छलफलमा सहभागी एक पदाधिकारीका अनुसार गगनले भनेका थिए, “संस्थापन पक्षले नै नियमित महाधिवेशन भ्याइँदैन भनेको छ। नियमितको कुरा गरेर डेढ महिना भइसक्यो। सभापतिको हितका लागि पनि विशेष महाधिवेशन गराइदिनुभयो भने देश र सिंगो पार्टी दुवैले फाइदा पाउँछन्।”

गगनको प्रस्तावबीच सभापति देउवाले पार्टी फुट्ने जोखिम देखाउँदै विशेष महाधिवेशनको विकल्प अस्वीकार गरे । देउवाले भने, “सल्लाह गरौँला, मिलेर अघि बढौँ। विशेष त हुँदैन । पार्टी फुटेको म हेर्न सक्दिनँ।” देउवाले सहमतिको मार्ग अपनाउनुपर्ने जोड दिए पनि विशेष महाधिवेशनका पक्षधर नेता त्यसमा संतुष्ट भएनन् ।

बैठकमा नेता रमेश लेखकले विवाद समाधानका लागि अर्को प्रस्ताव राखे, “नियमित महाधिवेशनको क्यालेन्डर ल्याऔँ । एकपटक क्यालेन्डर तय भएपछि विशेष महाधिवेशनको निवेदन फिर्ता नलिने तर विशेष महाधिवेशन नहुने ग्यारेन्टी चाहिन्छ।” तर लेखकको प्रस्ताव दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले अस्वीकार गरे । उनीहरूका अनुसार नियमित महाधिवेशनको क्यालेन्डरले मात्र समस्या समाधान हुँदैन।

महामन्त्री शर्माले बैठकमा भने, “नियमितको क्यालेन्डर ल्याएर गर्ने महाधिवेशनको टुंगो हुनुपर्‍यो। अब विशेषबाहेक अरु कुनै विकल्प छैन।”

बिहीबारको छलफलमा सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता रमेश लेखक सहभागी थिए। तर नेताहरूले राखेका आआफ्ना अडानमा रहे, सहमति भने कुनै बिन्दुमा पुगेन।

यतिबेला ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरिरहेको कुरा महामन्त्रीहरूले पुनः उठाए। तर देउवा समूहले फागुन २१ गतेको उपनिर्वाचनपछि मात्र महाधिवेशनबारे छलफल गर्नुपर्ने अडान दोहोर्‍याइरहेको छ ।

महाधिवेशन विषयमा सहमति खोज्दै आएका उपसभापति पूर्णबहादुर खड्काले सहमति नभएसम्म केन्द्रीय समिति बैठक परपर सार्दै आएका छन्। उनले भनेका छन्— “सहमति नहुँदासम्म बैठक बस्दैन।”

केन्द्रीय कार्यसमितिको बैठक तेस्रो पटक सर्‍यो, मंसिर १४ गते बस्ने 

केन्द्रीय कार्यसमितिको बैठक तेस्रो पटक पनि सरेको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार साँझ सूचना जारी गरी बैठक सरेको जानकारी दिएका छन्। मंसिर १२ गते बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंसिर १४ गतेलाई सरेको पौडेलले जनाएका छन् ।

कांग्रेसले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मंसिर १२ गते शुक्रबार दिनको २ बस्ने भनिएको बैठक २०८२ मंसिर १४ गते आइतबार दिनको २ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भएको छ।’ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंसिर ६ गते बसेको थियो। त्यसपछि स्थगित भएको बैठक मंसिर ११ गते बोलाइएको थियो ।

कांग्रेसभित्र नियमित महाधिवेशन कि विशेष महाधिवेशन र चुवनाअघि कि चुनावपछि महाधिवेशन गर्ने भन्ने विषयमा विवाद चलिरहेको छ। त्यसमा सहमति हुन नसक्दा केन्द्रीय कार्यसमितिको बैठक सारिँदै आएको छ । मंसिर १२ गते बस्ने भनिएको बैठक फेरि सारिएको हो। अर्को बैठक मंसिर १४ गते दिउँसो २ बजे बस्ने तय गरिएको छ ।

यता बिहीबारको शीर्ष तहको छलफल निष्कर्षमा नपुग्नुले कांग्रेसभित्रको गहिरो द्वन्द्व अझ स्थिर बनेको छ । महामन्त्रीहरू विशेष महाधिवेशनको बाटोमा अडिग छन् भने देउवा समूह नियमित महाधिवेशन र स्थिरता पक्षमा रहेको देखिन्छ । यस्तो परिस्थितिले कांग्रेसभित्रको नेतृत्व विवाद अझै लामो समयसम्म उब्जिने संकेत गर्दैछ ।


सम्बन्धित समाचार