Logo

१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण गरी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन को सुरक्षा तयारीबारे विस्तृत जानकारी लिएकी छन् ।

यस क्रममा सेनाले हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र निर्वाचनमा परिचालनको योजनाबारे प्रस्तुतीकरण दिएको थियो । आन्दोलनपछि गठित वर्तमान सरकारको मुख्य राष्ट्रिय अभिभारा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनु रहेको बताउँदै प्रधानमन्त्री कार्कीले सेनालाई प्राप्त जिम्मेवारी सफलतापूर्वक पूरा हुनेमा विश्वास व्यक्त गरिन् । सोही क्रममा उनले निर्वाचन सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्न नेपाली सेनालाई तीन मुख्य निर्देशनहरू पनि दिएकी छन् ।

जनतालाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण तथा सहयोग गर्न र सबै राजनीतिक दलका गतिविधिहरूलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढाउन सेनालाई निर्देशन दिइएको छ । आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन र एक जना पनि घाइते हुनुहुँदैन भन्ने दृढ संकल्पका साथ, अघिल्ला चुनावको अनुभव तथा आसन्न चुनावका विविध आयामहरूको विश्लेषण गरी सबै सुरक्षा निकायहरूसँग समन्वयात्मक र त्रुटिरहित ढंगले काम गर्न कार्कीले निर्देशन दिएकी छन् । साथै उनले जेनजी आन्दोलनको क्रममा लुटिएका र हराएका हातहतियारको खोजी तथा नियन्त्रणमा लिन प्रहरीलगायत अन्य सुरक्षा निकायसँग सहकार्य गरी स्थिति सामान्य पार्न र फरार अपराधीहरूलाई पक्रन प्रहरीलाई सहयोग गर्न कुनै कसर बाँकी नराखी खटिनू भनेकी छिन् ।

प्रधानमन्त्रीको यो निरीक्षण तथा निर्देशन कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल र प्रधान सेनापति अशोकराज सिग्देललगायत उच्च पदाधिकारीहरूको उपस्थिति थियो।


सम्बन्धित समाचार