Logo

१५ मंसिर, काठमाडौँ । नेपालमा पहिलोपटक लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले आफ्नो छुट्टै राजनीतिक दल गठन गरी चुनावी प्रक्रियामा सहभागी हुने घोषणा गरेको छ।

महिला, दृष्टिविहीन, अपाङ्गता भएका र फरक क्षमता भएका व्यक्तिहरूको सहभागितामा बनेको समावेशी समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएपछि औपचारिक रूपमा राजनीतिक यात्रामा उत्रिएको हो।

निर्वाचन आयोगमा दर्ता भएको उक्त दलको नेतृत्व तेस्रोलिंगी अधिकारकर्मी तथा लिड नेपालकी कार्यकारी निर्देशक नुमा लिम्बु (चञ्चला) ले गरेकी छन्। काठमाडौँमा आयोजित राष्ट्रिय भेलापछि गठन भएको २१ सदस्यीय केन्द्रीय समितिले कात्तिक २७ गते दल दर्ताका लागि निवेदन दिएको थियो।

दल दर्ताको प्रमाणपत्र बुझ्दै चञ्चलाले राज्यबाट दशकौँदेखि वञ्चित समुदायलाई आफ्नो आवाज आफैं उठाउन बाध्य हुने वातावरणका कारण राजनीतिक दल गठन आवश्यक भएको बताइन्। विद्यालयदेखि समाज, कार्यालयदेखि राजनीति मैदानसम्म भोगिएका गाली–गलौज, पहिचान र नागरिकताको संघर्ष यस कदमका मुख्य प्रेरणा भएको उनको भनाइ छ।

यसअघि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका विषयमा पहिलो संविधानसभामार्फत पहिचान स्थापित गराउन भूमिका निर्वाह गरेका सुनिलबाबु पन्तको पहलमै दल दर्ता प्रक्रिया अघि बढाइएको हो। “कागजमा मात्र उल्लेख गरिएको पहिचान राजनीतिक प्रतिनिधित्वबिनै अर्थहीन हुन्छ। अब समुदाय स्वयंले राजनीतिक शक्ति निर्माण गर्ने समय आएको छ,” पन्तले भने।

२०७४ सालपछि भएका कुनै पनि चुनावमा यो समुदायबाट एक जना प्रतिनिधि पनि सुनिश्चित हुन नसकेको तथ्यलाई औँल्याउँदै पन्तले विगतका राजनीतिक दलहरूले अल्पसंख्यक समुदायलाई ‘भोट बैंक’का रूपमा मात्रै उपयोग गरेकाले नयाँ दल गठन अपरिहार्य बनेको बताए।

पहिलो ‘मिस्टर गे हेण्डसम नेपाल’ विजेता तथा पार्टीका केन्द्रीय सदस्य विश्वराज अधिकारीले पनि समुदायको राजनीतिक सहभागिता र अधिकार सुनिश्चितताका लागि समावेशी समाजवादी पार्टी गठन गरिएको बताए।

अध्यक्ष चञ्चलाले दलको यात्रा समुदायमा मात्र सीमित नरहने उल्लेख गर्दै समाजका सबै वर्गसँग हातेमालो गर्दै देशको समग्र विकासमा आफूहरू अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले देशभरका लैंगिक तथा यौनिक अल्पसंख्यकलाई आगामी निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन आह्वान गरिन्।


सम्बन्धित समाचार