१६ मंसिर। काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल ले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई लिएर केही हतियार फिर्ता नभएको र केही कैदीहरू फरार रहेको आधारमा अनावश्यक शंका र भ्रम नफैल्याउन आग्रह गर्नुभएको छ ।
मंगलबार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले सरकार तोकिएको मितिमै भयमुक्त, स्वच्छ र स्वतन्त्र वातावरणमा निर्वाचन गराउन पूर्णरूपमा प्रतिबद्ध रहेको र कुनै पनि बहानाले निर्वाचन नरोकिने स्पष्ट पार्नुभएको छ ।
गृहमन्त्री अर्यालका अनुसार देशभर ४ हजार ५५२ फरार कैदीमध्ये जघन्य अपराध गर्नेको संख्या न्यून रहेको र सरकारले अहिलेसम्म ७२७ थान हतियार फिर्ता ल्याइसकेको छ । उहाँले भदौ २३/२४ का घटनापछि सुरक्षा संयन्त्रको नियमित काममा केही असर परे पनि अब अवस्था सामान्य बन्दै गएको बताउनुभयो । सुशासन, विधिको शासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता मा सरकार दृढ रहेको दोहोर्याउँदै मन्त्री अर्यालले चुनाव तयारीका क्रममा देखिएका मनोवैज्ञानिक चुनौतीहरू लाई नियन्त्रण गर्न सरकार कानुन कार्यान्वयनमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
‘अराजकतालाई नियन्त्रण गर्न हामी प्रतिबद्ध छौँ। मनोवैज्ञानिक सुरक्षाका चुनौतीका सन्दर्भमा पनि ढुक्क हुन आग्रह गर्छु,’ उहाँले भन्नुभयो । उहाँले सुरक्षा निकायको प्रशंसा गर्दै छिटपुट घटनालाई लिएर सम्पूर्ण संस्थाको मनोबल घटाउन नहुनेमा जोड दिनुभयो ।
यसका साथै, सुरक्षा संयन्त्रलाई निष्पक्ष, व्यावसायिक, हस्तक्षेपविहीन र स्वायत्त रूपमा काम गर्ने वातावरण उपलब्ध गराइएको र सरुवा–बढुवामा समेत निष्पक्षता अपनाइएको उहाँको भनाइ छ। गोष्ठीमा सहभागी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पनि राज्यका सबै शक्ति एकीकृत भएर निर्वाचनको वातावरण बनाउन प्रयास भइरहेको र सुरक्षा फौज नै देशको अन्तिम भरोसा भएको बताउनुभयो ।

















