१७ मंसिर, काठमाडौँ।अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवस आज (बुधबार) नेपालभर विविध जनचेतनामूलक कार्यक्रमसहित मनाइँदैछ।
सरकार, सरोकारवाला निकाय, गैरसरकारी संस्था तथा अपाङ्गता अधिकार क्षेत्रमा क्रियाशील संघ–संस्थाले दिवसको अवसरमा सेमिनार, र्याली, अन्तरक्रिया कार्यक्रमलगायत गतिविधि आयोजना गरेका छन्।
संयुक्त राष्ट्रसंघको पहलमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखमा विश्वभर मनाइने यो दिवस यस वर्ष ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धन : सामाजिक उन्नतिको संवर्द्धन’ भन्ने नारा लिएर मनाइँदैछ। नारा नै समाज सबैका लागि समान अवसर र पहुँचसहितको वातावरण निर्माणको आवश्यकता पुनः स्मरण गराउने उद्देश्यले तय गरिएको हो।
नेपालमा संविधानले अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित सम्मानजनक जीवन, समान अधिकार र सार्वजनिक सेवा–सुविधामा पहुँचको हक सुनिश्चित गरेको छ। तर व्यावहारिक कार्यान्वयनमा अझै धेरै सुधार आवश्यक रहेको सरोकारवालाको भनाइ छ। कार्यालयदेखि विद्यालय, सार्वजनिक सवारी, सडक, पार्क, मन्दिर तथा सरकारी–निजी संरचनामा अपाङ्गता मैत्री भौतिक पूर्वाधार अभावमा धेरै नागरिक दैनिक रुपमा कठिनाइ भोगिरहेका छन्।
संगठित आवाज तथा अधिकारका लागि अपाङ्गता समुदायका संस्था र नेतृत्वहरूले वर्षौंदेखि माग गर्दै आएको ‘समावेशी विकास’ को अवधारणा अहिले राज्यका नीति तथा कार्यक्रममा प्राथमिकताका रूपमा प्रवेश गर्न थाले पनि आवश्यक सुविधा, पहुँच र अवसर विस्तारका लागि अझै तीव्र कार्यान्वयन आवश्यक रहेको उल्लेख गरिएको छ।
दिवसका अवसरमा काठमाडौँसहित सातै प्रदेशमा अधिकारसम्बन्धी बहस, अपाङ्गता मैत्री पूर्वाधार निर्माणका प्रतिबद्धता आदानप्रदान तथा सचेतना कार्यक्रम संचालित भइरहेको छ। सरोकारवालाहरूले सबै तहका सरकारलाई अपाङ्गता भएका व्यक्तिहरूका आवश्यकतालाई नीति–कार्यक्रममा पूर्ण रूपमा समावेश गर्न आग्रह गरेका छन्।
दिवसले समावेशी, समान र न्यायसंगत समाज निर्माणको साझा संकल्पलाई बलियो बनाउँदै अपाङ्गता भएका व्यक्तिहरूको अधिकारप्रति पुनः केन्द्रित गर्न सहयोग पुर्याएको छ।

















