१७ मंसिर,वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाउने परिस्थिति देखिएपछि राजीनामा दिने तयारी गरेका छन्। आज बिहान ८:३० बजेका लागि बोलाइएको प्रदेश सभा बैठक सुरु हुन नसकेपछि उनी दिउँसो २ बजे बोलाइएको बैठकमा आफ्नो धारणा राखेर राजीनामा दिने तयारीमा रहेको बताइन्छ।
प्रदेश सभामा विश्वासको मत लिँदा आवश्यक मत नपुग्ने स्थिति प्रष्ट भएसँगै यादवको सरकार संकटमा परेको हो। १०७ सदस्यीय मधेश प्रदेशसभामा सरकारलाई विश्वासमा रहन ५४ मत आवश्यक पर्छ। तर सरोजकुमार यादव नेतृत्वको सरकारमा रहेको एमालेसँग सभामुखसहित २५ सांसद मात्रै छन्, तीमध्ये एक जना निलम्बित रहेका छन्। एमालेलाई एक-एक सिट भएका नेपाल संघीय समाजवादी र राप्रपाको साथ छ।
तर राप्रपाकी वन तथा वातावरणमन्त्री कञ्चन बिच्छाको सांसद पद नै खारेज प्रक्रियामा रहेको छ। पार्टीको नीतिविपरीत सरकारमा सहभागी भएको भन्दै राप्रपाले आइतबार नै प्रदेश सभा सचिवालयमा पत्र पठाई उनको पद खारेजको प्रक्रिया अघि बढाइसकेको छ। यस्तो परिस्थितिमा सरकार पक्षका मत झनै कमजोर बनेका छन्।
यसैबीच सात दलीय गठबन्धनसँग ७३ सांसद भएकोले विपक्षी गठबन्धन स्थिर देखिन्छ। गठबन्धनमा नेपाली कांग्रेसका २२, जसपा नेपालका १८, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोसपाका ८, एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्ति पार्टीका १ सांसद छन्।
गठबन्धन एकातिर उभिएका कारण मुख्यमन्त्री यादवले विश्वासको मत पाउने सम्भावना समाप्तप्रायः बनेको र आजको बैठकमा औपचारिक रूपमा राजीनामा घोषणा गर्ने तयारी गरिएको बताइएको छ।

















