१७ मंसिर, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टी मधेश प्रदेशमा एक्लो नभएको र नहुने बलियो दाबी प्रस्तुत गरेका छन् ।
प्रेस चौतारी नेपालले केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले ‘आजका मितिमा पनि नेकपा एमाले मधेश प्रदेशको सबैभन्दा शक्तिशाली पार्टी हो’ भन्दै पार्टीको जनसमर्थनमा विश्वास व्यक्त गरे । पौडेलले जोड दिए कि जनताले स्वीकार गर्दासम्म कसैले एक्लाएर कुनै पनि पार्टी एक्लिँदैन, बरु ‘बहुसंख्यक जनताले स्वीकार गर्छन् कि गर्दैनन् भन्ने कुरा नै मुख्य हो ।
उनले आफ्नो पार्टी जनतासँग गहिरो रूपमा जोडिएर अघि बढेको र भविष्यमा पनि त्यही बाटोमा रहने स्पष्ट पारे । उनले थप जिकिर गरे, ‘जनताले विश्वास गर्ने बेलासम्म हामी अलग्गियौं, एक्लियौं भन्ने मानसिकताबाट निर्देशित हुँदैनौं। हामी मधेशमा एक्लिएका पनि होइनौं, एक्लिँदा पनि एक्लिँदैनौं।’ यो भनाइले मधेशमा एमालेलाई कमजोर पार्ने प्रयास भइरहेको हुनसक्ने सङ्केत गर्दै, पौडेलले जनताको साथ र विश्वास नै पार्टीको शक्तिको आधार रहेको स्पष्ट पारेका छन् ।

















