१७ मंसिर,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले सीमावर्ती नाकाबाट अपरिचित व्यक्ति तथा समूहहरू प्रवेश गर्ने सम्भावना बढेकाले सतर्क रहन सर्वसाधारणलाई अपिल गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयपछि सीमा क्षेत्रमा सुरक्षा निकायले चेकजाँच कडा पारेको प्रशासनले जनाएको छ। शंकास्पद देखिने व्यक्तिबारे जानकारी भए नजिकैको सुरक्षा निकायलाई तत्काल खबर गर्न आग्रह गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले जारी गरेको सूचनामा भनिएको छ, “हाल सीमावर्ती नाकाबाट शंकास्पद व्यक्तिहरू जिल्लामा प्रवेश गर्ने अवस्था देखिएपछि चेकजाँचमा थप कडाइ गरिएको छ। यदि कुनै अपरिचित व्यक्ति वा समुदाय जिल्लाभित्र प्रवेश गरेको देखिएमा उनीहरूको सम्बन्धमा नजिकको सुरक्षा निकायलाई जानकारी गराइदिनु हुन अनुरोध छ।”
सुरक्षात्मक संवेदनशीलता ध्यानमा राख्दै प्रशासनले परिचय नखुलेका व्यक्तिलाई घरमा बसोबास गराउन वा कुनै कामकाजमा संलग्न गराउन निषेध गरिएको पनि स्पष्ट पारेको छ।
जिल्लाभित्र शान्ति, सुरक्षा तथा अमनचयन कायम राख्दै सम्भावित जोखिम न्यूनिकरण गर्न यो कदम चालिएको र यसका लागि नागरिकको सक्रिय सहयोग आवश्यक रहेको प्रशासनले उल्लेख गरेको छ।

















