१८ मंसिर, चितवन । रत्ननगर नगरपालिका–६ स्थित पार्क साइट होटलको छतबाट खस्दा एक किशोरीको मृत्यु भएको छ।
सिन्धुलीको कमलामाई नगरपालिका–६ की १८ वर्षीया स्नेहा पाख्रिनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले पुष्टि गरेको छ।
बुधबार राति होटलको छतबाट खसेर गम्भीर घाइते भएकी पाख्रिनलाई तत्कालै उपचारका लागि बकुहर अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालले जानकारी दिए।
प्रहरीका अनुसार पाख्रिन सिन्धुली गुरुकुल कलेजबाट अध्ययन भ्रमणका लागि चितवन आएकी थिइन्। घटना कसरी भयो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
घटनास्थल निरीक्षण तथा प्रारम्भिक अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
होटल परिसरमा कसरी र किन घटना भयो भन्नेबारे प्रहरीले शिक्षक, विद्यार्थी तथा होटल व्यवस्थापनको बयान लिँदै थप अनुसन्धान जारी राखेको छ।

















