१८ मंसिर, सेढवा (ठोरी) । समुदायको परम्परा, पहिचान र संस्कृतिको संरक्षण सबैको साझा दायित्व भएको ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताएका छन्।
नेपाल सम्बत ११४६ युमरी पुन्हीको अवसरमा बुधबार राति ठोरी-५ मा आयोजित सांस्कृतिक कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले स्थानीय संस्कार-संस्कृति जोगाउन गाउँपालिका निरन्तर सहयोग गर्न तयार रहेको बताए।
अध्यक्ष श्रेष्ठले आगामी वर्षदेखि युमरी पुन्हीलाई तीन दिनसम्म महोत्सवका रूपमा भव्य रूपमा आयोजना गर्ने र यसको संस्थागत विकासका लागि आवश्यक सहयोग उपलब्ध गराइने घोषणा गरे। स्थानीय तहको विकाससँगै समुदायको मौलिकता जोगिनु जरुरी रहेको उल्लेख गर्दै उनले संस्कृतिको संरक्षणलाई पालिकाले प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रम नेवाः देय दबु सुवर्णपुरका सचिव चन्द्र नेवारको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष अष्ठबहादुर लोप्चन, नेपाल शिक्षक महासंघ ठोरीका अध्यक्ष अमृत श्रेष्ठसहितका अतिथिहरूले शुभकामना मन्तव्य दिएका थिए ।
सांस्कृतिक कार्यक्रममा भारतीय कलाकारहरूले आकर्षक नृत्य प्रस्तुति दिएपछि वातावरण झन् उत्साहपूर्ण बनेको सहभागीहरूले बताए ।
नेवारी परम्परा अनुसार मंसिर शुक्ल चतुर्दशीका राति भगवान भिमसेनको पूजाआराधना गरिने, र पूर्णिमाका दिन राँगा, बोका, कुखुरा तथा हाँसको बली चढाई सामूहिक भोज आयोजना गर्ने चलन रहिआएको छ । उक्त संस्कारलाई निरन्तरता दिँदै यस वर्ष पनि समुदायले संयुक्त रूपमा विधिपूर्वक अनुष्ठान सम्पन्न गरेको स्थानीयहरूले बताएका छन्।

















