१९ मंसिर, काठमाडौँ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले १ सयभन्दा ठूला दरका भारु नोट नेपाल-भारत आवागमनका यात्रुहरूले बोकेर ल्याउन तथा लैजान सक्ने व्यवस्था गरेको छ ।
विदेशी विनिमय व्यवस्थापन नियमावली-२०१५ संशोधनसँगै भारतले नोटबन्दीपछि जारी गरेको प्रतिबन्ध औपचारिक रूपमा हटाएको हो ।
आरबीआईले जारी गरेको संशोधित नियमावली अनुसार १०० भारु सम्मका नोटमा अब कुनै सीमा रहने छैन, जसअन्तर्गत यात्रुहरूले आवश्यकतानुसार जुनसुकै परिमाणमा भारत–नेपाल आवतजावतमा बोक्न सक्नेछन्।
तर, १०० भन्दा ठूला दरका नोटको हकमा भने अधिकतम २५ हजार भारतीय रुपैयाँसम्म मात्र बोक्न पाउने व्यवस्था गरिएको छ ।
नियमअनुसार ठूला दरका नोटहरू यात्रुले शारीरिक रूपमा बोकेको अवस्थामा मात्रै नेपाल-भारतबीच लैजान वा ल्याउन पाइनेछ । बैंकिङ च्यानल वा ह्वाइट मनी ट्रान्सफर जस्ता माध्यमबाट पठाउन भने अझै पनि निषेध गरिएको छ।
नेपालले अझै निर्णय गर्न बाँकी
भारतले प्रतिबन्ध हटाए पनि नेपालमा ठूला दरका भारु चलनचल्तीमा ल्याउन आवश्यक नीतिगत निर्णय भने अझै भइसकेको छैन ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलका अनुसार, भारतको निर्णय सकारात्मक भए पनि नेपालले पनि त्यसअनुसार निर्देशिका जारी गर्नुपर्ने उल्लेख छ ।
उनका अनुसार, “भारतले प्रतिबन्ध हटाएको भन्दैमा ठूला नोट स्वतः चलनचल्तीमा आउँदैन। नेपाल राष्ट्र बैंकले पनि नीतिगत अनुमति दिनुपर्ने हुन्छ।”
भारतले सन् २०१६ मा ५०० र १००० का नोट नोटबन्दी गरेपछि नेपाल र भारतबीच ठूला दरका नोटको आवतजावत रोकिएको थियो । त्यस समयमा नेपालका बैंकिङ प्रणालीमा मात्र ५ करोड भारु बराबरका नोट रोकिएको अवस्था आज पनि समाधान हुन सकेको छैन ।
नेपालले भारतसँग ती नोट सटहीको पहल गर्दै आएको भए पनि प्रक्रिया अझै पूर्णरूपमा टुंगो लागेको छैन ।
प्रवक्ता पौडेल भन्छन्, “पुराना नोट नसाटिएको मुद्दाका कारण अहिलेका नयाँ नोटहरूको चलनमा बाधा हुनु हुँदैन। नेपालले अनुमति दिए उपलब्ध व्यवस्था सहज रूपमा कार्यान्वयन हुन्छ।”
आरबीआईले संशोधन गरेको नियमावली अनुसार यो व्यवस्था नेपाल र भुटानका नागरिकका लागि मात्र लागू हुन्छ। अन्य देशका यात्रुले भने यस्तो सुविधा पाउने छैनन्।
संशोधित प्रावधानअनुसार भारतीय मुद्रा १०० भन्दा माथिका नोटको हकमा व्यक्तिले अधिकतम भारु २५ हजारसम्म बोकेर नेपाल र भारत सीमामा आवतजावत गर्न सक्ने व्यवस्था गरेको छ। त्यस्तै १०० सम्मका नोटका लागि भने कुनै सीमा तोकिएको छैन, जसले गर्दा जति रकम भए पनि स्वतन्त्र रूपमा ल्याउन वा लैजान सकिनेछ।
नेपाली रुपैयाँको हकमा भारतले कुनै सीमा नतोके पनि नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार नेपालबाट विदेश जाने नेपाली नागरिकले अधिकतम ५ हजार रुपैयाँ मात्र सहजरूपमा लैजान पाउने व्यवस्था यथावत रहनेछ ।
ठूला दरका भारतीय नोट नेपालको बजारमा चलनचल्तीमा निषेध गरिँदा दुवैतर्फका पर्यटक, मजदुर तथा व्यापारीले ठूलो असुविधा भोगिरहेका थिए । यसै कारण भारतले नेपाल र भुटानका लागि विशेष प्रबन्ध गरेको आरबीआईको भनाइ छ ।
अब नेपालले पनि आवश्यक नीतिगत तयारी पूरा गरेपछि सीमापार व्यापार, यात्रा तथा पर्यटक आवतजावत सहज हुने अपेक्षा व्यक्त गरिएको छ ।

















