१९ मंसिर, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा सर्वपक्षीय राजनीतिक संवादलाई सुदृढ गर्न आज एक सर्वदलीय बैठक आह्वान गरेकी छन्। बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति तय भइसकेको अवस्थामा निर्वाचन वातावरण निर्माण, सुरक्षा स्थिति, प्राविधिक तयारी तथा राजनीतिक साझा समझदारीका विषय बैठकका मुख्य एजेन्डा रहने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने दलहरूका शीर्ष नेतृत्व, जेन-जी आन्दोलनका प्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय निर्वाचन आयोगका पदाधिकारी तथा सरोकार हुने सरकारी निकायलाई सहभागी हुन निमन्त्रणा गरिएको छ ।
प्रधानमन्त्री कार्की पछिल्लो समय निर्वाचन तयारीलाई तीव्रता दिँदै आएकी छिन् । आयोगले प्राविधिक तथा व्यवस्थापकीय तयारी अघि बढाइरहेकोमा प्रधानमन्त्रीले राजनीतिक सहमति र वातावरण निर्माणलाई प्राथमिकतामा राख्दै परामर्श–संवादलाई निरन्तरता दिने संकेत बैठकले गरेको छ।
सरकारले निर्धारण गरेको मितिमा सहज, निष्पक्ष र विश्वासिलो ढंगले निर्वाचन सम्पन्न गर्न सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेको भन्दै प्रधानमन्त्री कार्कीले आजको बैठकले आगामी प्रक्रियालाई थप स्पष्टता र गति दिने अपेक्षा व्यक्त गरिएको सचिवालयले जनाएको छ।

















