२०३० को दशकमा भोजपुर र ईलामका पहाडमा अन्य किशोरीहरुले जस्तै सामन्य जनजीवन, दाउरा घाँस, सरकारी विद्यालयको शिक्षा यसका अलावा कम्युनिष्ट नेताहरुको सम्पर्क पश्चात सामाजिक न्याय सहित समाज निर्माणको झिनो सपना आदी बोक्दै विस्तारै युवा अवस्था हुँदै पारिवारीक जीवनमा प्रवेश गर्नु भएकी विद्याभण्डारी अनेरास्ववियुको सदस्य, स्थानीय नेता, पार्टीको कार्यकर्ता, महिला संगठनको कार्यकर्ता, महिला संगठनको नेता, सांसद, मन्त्रि, (वातावरण तथा रक्षा मन्त्रि), पार्टीको महाधिवेशनबाट निर्वाचित नेता (उपाध्यक्ष), दुई दुई पटक राष्ट्रपति (पहिलो पटक एमालेको मनोनयनमा दोश्रो पटक एकिकृत कम्युनिष्ट पार्टीको मनोनयनमा) र सफल कार्यकाल (राजनीतिक रुपमा वहाँले आफनो स्वतन्त्रताको प्रयोग कति गर्न पाउनु भयो भन्ने प्रश्नको उत्तर भने खोज्नै पर्दछ) वा क्या शानदार संघर्ष सहितको कथा । समग्र नेपालीको मन रुवाएको र ब्यक्तिगत रुपमा मलाई निकै पिडा महशुश भएको दासढुंगा दुर्घटनाले यो संसारमा सबै भन्दा बढी पिडा कसैलाई दिएको छ भने त्यो वहाँलाई नै दिएको छ ।
पार्टीको गुट, नेपाली समाजको एकल महिला प्रतिको दृष्टिकोण, नेतृत्वमा महिलाको क्षमतामाथीको पुरुष प्रधान समाजको धारणा, छोरीहरु र परिवार प्रतिको उत्तरदायित्व, आफ्नै नेतृत्व क्षमता विकासका चुनौतिहरु यी सबै अवरोध, चुनौतीहरु र समस्याहरु सबैलाई सवलता र अवसरमा रुपान्तरण गर्न सक्षम भएर मात्रै वहाँ राष्टपति हुनु भएको कुरा पुष्टि हुन्छ । वहाँ घाम पानीमा खारीएको संघर्षको सफल कथाको जीवीत उदाहरण भएकी नेपाली नारी हो । वहाँको संघर्षका अनुभवहरुले नै वहाँलाई सक्षम बनाएको छ । नेपाली समाजमा सकारात्मक भन्दा नकारात्ककोणहरुबाट वढी टिका टिप्पणी हुन्छन । दुई दुई पटक राष्ट्रपति भईसकेको व्यक्तिलाई पनि आफनै क्षमताले त कहाँ हो र फलानाले बनाईदिएर राष्ट्रपति बन्नु भएको हो, फलनाले नचाहेको भए कहाँ सँभव थियो र ? आदि ईत्यादी कुराहरु सस्तो तरिकाले फैलाईन्छ ।
जब यस्ता कुराहरु सञ्चार माध्याममा आउदछन तब मेरो मनमा केही प्रश्नहरु उब्जिन्छन । के वहाँको राजनीति उचाई राष्ट्रपतिको लागि योग्य नहुदा नहुदै वहाँ राष्ट्रपति बनाईनु भएको हो ? स्मरण रहोस वहाँ राष्ट्रपनि बनाईनु भएको होइन हुनु भएको हो । समकालिन नेतृत्वमा स्थापित व्यक्तिहरुसँग दाँज्ने हो भने वहाँ हर तरहका योग्यता र क्षमताले सक्षम हुनु हुन्थ्यो र हुनुहुन्छ र वहाँको पार्टीमा त वहाँ अतुलनीय हुनुहुन्छ । यदि कसैले चाहेर मात्रै हो भने त्यसरी बनाईदिने मानिसका वहाँ भन्दा पनि नजिकका आफन्त थिए कि थिएनन होला ? त्यस्ता आफन्तलाई नवनाई किन वहाँलाई नै रोजेका होलान ? महिला बन्धन र मुक्तिको गित गाउदै हुर्केका हौ भन्नेहरुले एक सफल, सक्षम नारी जो अपमान, असमानता र अन्यायको जन्जिरलाई तोडेर राजनीतिमा स्थापित भएको महिलालाई आफना अनुभव सहित पुन राजनीतिमा सकृय हुन्छु भन्दा यो समाजका विद्धवानहरु, राजनीतिज्ञहरु र स्वयम् महलिा संगठनका नेतृहरुले गरेको व्याख्या देख्दा अचम्म लाग्दछ । यति स्थापित महिले त सकृय राजनीतिमा आउन यति बिघ्न अवरोधको सामना गर्नु पर्दछ भने यो देशमा साधरण महिलाहरुको लागि नेतृत्व विकासको अवसरको हालत के होला ? नेपाली समाजमा व्याप्त चरम विभेद बिरुद्धको शंखनाध नै विद्या भण्डारीको राजनीति सकृयताको औचित्य हो भन्ने समाज रुपान्तरणमा रुचि राख्ने सबैले बुझ्नु पर्दछ ।
कुरा क्रान्तिकारी गरे पनि अधिकाँश नेताहरुको सोच र शैली सामन्तवादी र पुरातनवादी नै छ । नेतृत्वको महान व्यक्ति सिद्धान्तले नेतृत्व जन्मजात हुन्छ भन्छ प्राविधीक रुपमा नेतृत्व भएका (सामन्तवादी सोच भएका तर विभिन्न कारणले कम्युनिष्ट पार्टीको उपल्लो कमीटीमा बसेर नेता कहलाईएका)हरु व्यक्तिको शारिरिक वनावट र लिंग हेरेर नेतृत्व क्षमताको मुल्याँकन गर्दछन र नयाँ नेतृत्व विकास र उपेक्षित समुदायलाई सधै वहिष्करण गर्दछन । अहिले एक खाले नेताहरुले त्यसै गरी सामाजिक सञ्जालमा आफना पोस्टहरु प्रस्तुत गरिरहेका छन । मानौ उनिहरुको जीवनको एकमात्र लक्ष्य भनेको नै क्रान्तिकारी ढोग गरेर यो समाजलाई यथास्थितीमा राख्नु हो । नेतृत्वको गुण सिद्धान्त अनुसार नेतृत्व विकासमा अति आवश्यक गुणहरु आत्मविश्वास, दृढता, बुद्धिमत्ता, ईमान्दारी जस्ता कुराहरु आवश्यक पर्दछन जुन जन्मजात पनि हुन सक्दछन वा सिकेर र निरन्तर अभ्यास गरेर पनि बिकास गर्न सकिन्छ भने व्यवहारवादी सिद्धान्त अनुसार नेतृत्व जन्मिदैन व्यवहारवाट सिकेर बन्ने कुरा हो भन्दछ ।
परिस्थिती जन्य सिद्धान्त अनुसार बदलिदो परिस्थितीले पनि नेतृत्वको जन्म हुन्छ भन्ने कुरा स्विकार्दछ र आजको यस परिवर्तनशिल जमानामा हिजोको सोचको आधारमा कसैको नेतृत्व क्षमता माथि प्रश्न गर्नु गलत मात्रै होइन सामाजिक रुपान्तरण र सकारात्मक परिवर्तनको अवरोध पनि हो । रुपान्तरणकारी र करिश्मात्मक नेतृत्व सिद्धान्तका अनुसार नेताले स्वयले सिंगो समजलाई विश्वास जगाउदछन, टुटेको सम्वन्धलाई जोड्दछन, समुदायलाई उत्साहित बनाउदछन र यथास्थितीको अन्त गरेर अग्रगामी यात्राको शुभारम्भ गर्दछन । राष्ट्रपति विद्या भण्डारीको राजनीतिक सकृयताले नेपाली समाजको जडता, सामन्तवादी संरचना, लोकतान्त्रिक पार्टीहरुमा मौलाउदो नवसामन्तवाद, महिलाहरुको क्षमता, योग्यता र दक्षता माथीको अपमान सबैलाई एकै पटक शसक्त प्रहार गर्दछ । कसैले मानोस वा नमानोस वहाँको राजनीतिक सकृयता नै नेतृत्व विकासको एक कठोर तर नविनतम सिद्धान्त हो ।
एक जना महिला आत्मविश्वासका साथ नेतृत्वमा आउन कति चुनौतीपुर्ण हुदो रहेछ । करिव आफनो जीवनको वाह्र तेह्र वर्षको उमेर देखी नै विभिन्न तहको नेतृत्व सम्हाल्दै आउनु भएकी वहाँ दासढुंगा दुर्घटना पश्चात पार्टीको चाहनामा राजनीतिमा आउनु भयो र चुनाव जित्नु भयो । त्यसपछि पार्टीको सुरक्षा कवचमा वहाँको नेतृत्व विकास भयो । सबै जिम्मेवारी र सन्दर्भहरु वहाँले आफनो स्वतन्त्रता भन्दा पनि पार्टीको निर्देशन र चाहना अनुसार नै निर्वाह गर्दै जानु भयो । यो प्रकृयाले वहाँमा नेतृत्व क्षमताको विकास भएको रहेछ । नेतृत्व विकासको गुण र व्यवहार सिद्धान्तले भने झै लामो समयको अभ्यास, अध्ययन अनुसन्धानले वहाँमा आत्मविश्वास पलाएको रहेछ । अनेरास्ववियुको प्रारम्भिक कमिटीदेखी राष्ट्रपतिको पदिय जिम्मेवारी निर्वाह गर्दा सम्म वहाँको नेतृत्व विकास भएको कारण नै अहिले वहाँले जनताको वहुदलिय जनवादको कार्यान्वयन गरेर देशको आमुल रुपान्तरण गर्न सकिन्छ र त्यसको लागि वन्द कोठामा बसेर होईन राजनीतिमा सकृय भएर मात्रै योग दान दिन सकिन्छ भन्ने निष्कर्ष निकाल्नु भएको रहेछ जुन समग्र देश र महिला तथा पिछडिएको वर्गको आमुल रुपान्तरणको लागि आफैमा एक कोशे ढुंगा हो । एकछिन सोचौ त यदि वहाँ सकृय राजनीतिमा नआउने भने नेपालका स्थापित पार्टीहरुमा महिलाहरुले मुल नेतृत्वमा आफै शसक्तिकरण भएर आउन अरु महिलाहरुलाई अझै कति वर्ष लाग्ला ? के यो प्रश्न पेचिलो छैन ? सबै महिलाहरुको लागि र महिला पुरुष समानताको वकालत गर्नेहरुको लागि वहाँको राजनीतिमा सकृय आगमनको खबर भन्दा खुशी अरु के हुन सक्ला र ?
वहाँको यस निर्णयको सफलता वा असफलता दुबै कुराले समग्र देश र महिला उत्थानमा दिर्घकालिन सकारात्मक रुपान्तरणको जग निर्माण हुन्छ । यो नै एक जिम्मेवार नेतृत्वको भुमिका हो । वहाँको राजनीतिक सकृयताले दुई प्रकारका हलचल पैदा गरेको देखिन्छ । पहिलो वहाँको आगमन पश्चात पार्टी सत्ता र राजकीय सत्ता गुमाउन पर्दछ की भनेर अत्तालीएको वर्ग जुन निकै निकृष्टता साथ प्रस्तुत भईरहको छ तर मलाई लाग्दैन वहाँको राजनीतिक सकृयताले कसैलाई हानी वा कसैले केही गुमाउनु पर्दछ भनेर । किन भने हिजो पनि वहाँ पार्टीमा ससम्मान अटउनु भएको थियो र भोलि पनि त्यसरी नै अटाउनु हुनेछ । अर्को राजनीतिको शिखर चुमि सकेको व्यक्ति फेरी किन पार्टीको साँघुरो घेरमा ? राज्यको सेवा सुविधा लिएर कुनै निश्चित पार्टीको राजनीति गर्न मिल्छ ? भन्ने जस्ता सारै बचकना प्रश्नहरु उठाएको देखिन्छ । यो प्रश्नले नै त्यो पार्टीमा कुन स्तरको सैद्धान्तिक र बौद्धिक बहस हुन्छ भन्ने प्रष्ट पार्दछ । मुलभुत रुपमा नेपाल जस्तो बहुदलिय व्यवस्था भएको देशमा करिव सबै नागरीकहरु नै यो वा त्यो नाममा चाहे भोटर मात्रै होस वा कार्यकर्ता कै रुपमा होस पार्टीमा आवद्धनै भएका हुन्छ । पार्टीकै तर्फवाट राष्ट्रपति भईसकेको व्यक्ति प्राविधीक रुपमा पार्टीको सदस्य नभए पनि मन वचन र कर्मले पार्टीमा भएको हुन्छ भन्ने कुरा खुला गोप्य हो । अव प्रश्न रह्रयो निष्कृय कार्यकर्ताको रुपमा पार्टीको कुनै गुट विशेष वा समग्र पार्टीको काम गर्ने ? वा राजनीतिमा सकृय भएर राजनीतिक औचित्य सहित काम गर्ने ? वहाँले सकृय रुपमा पार्टीको काम गर्न रुचाउनु भयो जुन यो देश र नागरीकको हितमा छ । त्यसकारण बिगतमा जेजस्ता तर्कहरु गरेर वहाँको सकृय राजनीतिक आगमनलाई निषेध गरिए पनि यो महाधिवेशन अगाबै वहाँलाई राजनीतिमा सकृय भएर पार्टीलाई एकढिक्का बनाउन भुमिका खेल्ने अबसर दिईनु पर्दछ ।
यदि पार्टीमा सकृय हुने हो भने राष्ट्रपतिको सेवा सुविधा लिएर पार्टीको काम गर्न मिल्दछ त ? भन्ने प्रश्न पनि उठ्ने गरको छ । सबैले बुझन पर्ने कुरा के हो भने सानो कर्मचारी देखी मुख्य सचिव र मन्त्रि देखी प्रधानमन्त्रि सम्म यदि राज्यको सुविधा लिएर राजनीतिमा सकृय भएर वा निष्कृय भएर राजनीति गर्दछन भने त्यो उस्तै कुरा हो । के राजनीतिमा सकृय भएका हिजो कार्यकारी अधिकार प्रयोग उच्च पदस्थहरुले (सबै भुपु प्रधानमन्त्रि, मन्त्रिलगायतकाले) सेवा सुविधाहरु त्याग गरेका छन ? यदि गरेका छैनन भने विद्या भण्डारीलाई मात्रै किन त्यो प्रश्न? जहाँ सम्म सम्मानको कुरा छ यो देशको हर नागरीक चाहे त्यो मजदुर होस वा राष्ट्रपति सबैको आत्मसम्मान बराबर हो । जहाँसम्म विद्या भण्डारीको कुरा छ वहाँले सुरक्षा बाहेकका कुनै पनि सेवा सुविधाहरु नलिने भनेर घोषणा गरिसक्नु भएको छ र त्यो कर्यान्वयनमा पनि गइसकेकोछ । केही विद्धवानहरुले के कुतर्क गर्दै छन राष्ट्रपति भईसकेको व्यक्ति सेनाको परमाधिपति भैसकेको व्यक्ति कुनै अमुक पार्टीमा आउन मिल्दैन भन्दैछन के नेपालको संविधान र कानुनले त्यसो भनेको छ ? नेपालको सेरोमोनियल राष्ट्रपतिसँग कार्यकारी प्रधानमन्त्रि भन्दा के वढी सुचना हुन्छन ? भुतपुर्व भनेको राष्ट्रको नागरीक हो । वहाँको पार्टीले वहाँलाई राजनीतिमा सकृय हुन नदिन त्यो पार्टीको ढोका मात्रै वन्द गर्द सक्दछ राजनीति नै नगर्न प्रतिवन्ध लगाउन सक्दैन ।
अव एकछिन हेरौ वहाँको राजनीति सकृयताले यो देश समाज वा वहाँ स्वयम्को पार्टीलाई के हानी हुन्छ ? नेपाली समाज रुपान्तरणको संक्रमणकालिन मोडमा छ । देश निरन्तर नेतृत्वको असफलताको शिकार बनेको छ । बारम्वार भन्ने गरिएकोछ असक्षम र अयोग्य पात्रहरुको कुचक्रमा देश फसेको छ । राजनीतिक ईमान्दारीता, नैतिकता, सुशासन जस्ता कुराहरु धज्जी उडाईएका छन । समाजको हर क्षेत्रमा भागवण्डा, विचौलीया र दलालहरुको विगविगी छ । एक सामन्य राजनीतिक नियुक्ति देखी संसद सञ्चालन होस वा भ्रष्टचारी र दलालहरुलाई कानुनी कार्वाही होस वा विकास योजनाहरुको छनौट र कार्यान्वयन होस चारैतिर अन्यौल र असन्तोस छ । देशको राजनीति संगठीत राजनीतिक पार्टीहरुको हातबाट बाहिर गईरहेको छ । व्यवस्था संकटमा छ र आम जनमानसको नजरमा देशमा नेतृत्व संकट छ । समकालिन नेतृत्व प्रति यो देशका युवा पुस्ता र तीनका परिवारहरुको आस्था र विश्वास टुटेको छ । देश असफलता तिर लागेको बेलामा सबैलाई मिलाउन सक्ने, अभिभावकत्व दिन सक्ने र उच्च स्तरको राजनीति संस्कार भएको र अहिलेको अवस्थामा सबैको आशा एवम् भरोसाको केन्द्र भएकी व्यक्तिलाई तेजोबोध गरेर त्यो पार्टी र त्यसका नेताहरुले दिने सन्देस के नेपाली नागरीकलाई स्विकार्य होला ? कि वहाँ सहितको सहभागीताले त्यो पार्टीको गरिमा उचो होला ? संभवत महाधिवेशनका क्रान्तिकारी प्रतिनिधीहरुले गंभिर भएर सोचेर सकारात्मक निर्णय लिन सकेमा त्यो पार्टीको गरिमा त उचो हुन्छ नै, यसले समग्र देशमा सकारात्मक कम्पन पैदा हुन्छ ।
स्मरण रहोस यस्तो संकटमा देश, पार्टी र नागरीकको विश्वास बचाउने नेतृत्वले हो । सक्षम नेतृत्वलाई पाखा लगाएर असक्षमहरुले ताण्डव देखाउदा यो देश र नागरीकहरुले सदियौ सम्म महंगो मुल्य चुकाउनु पर्दछ । यस्तो अवस्थामा एक ईमान्दार, सफल र सक्षम व्यक्तिको राजनीतिक सकृयताले देश, समाज, पार्टी र समग्र व्यवस्थालाई नै फाईदा हुन्छ त्यसकारण देश र नागरीकको नाममा राजनीति गर्नेहरुले गर्ने सहि निर्णय नै देश र नागरीक प्रतिको जीवित कुर्वानी हो । विश्वका विभिन्न देशमा राष्ट्रपति भईसकेका व्यक्तिहरुले आफना सफल अनुभवहरुलाई त्यो भन्दा सानो पदमा आएर सदुपयोग गरेका छन भने वहाँले त कुनै पदको अपेक्षा नगरी देशकै ठुलो सञ्जाल भएको आफनै मिहीनेतले हुर्काएको पार्टीका आदर्श र सिद्धान्तलाई थप उचाईमा पुर्याउन सकृय हुन्छु भन्दा सबै पार्टीहरु र विशेषतः नेकपा एमाले र यसका नेता तथा कार्यकर्ताहरु निकै हर्षित हुनु पर्दछ । मेरो विबचारमा वहाँको राजनीतिक सकृयताले एमालेको आन्तरीक प्रस्पिर्धाको संस्कारलाई थप सवलीकरण गरेर जवजले परिकल्पना गरेको प्रतिस्पर्धामार्फत उत्कृष्ट चयनको क्षेत्रमा एक गौरवशाली कोशेढुंगाको पदचिन्ह स्थापित गर्ने अवसर सिर्जना गरेर जवजको आदर्श र देशकै लोकतन्त्रको सवलीकरणमा महत्वपुर्ण उदाहरण पेश गर्नेछ । अहिले एमालेले निषेधको होइन सहभागीता र सहकार्यको रणनीति अपनाएर सम्माननीय पूर्व राष्ट्रपति श्री विद्याभण्डारीलाई सकृय राजनीतिमा आउने वातावरण बनाउन सकेमा एमालेमाथी भईरहेको चौतर्फी प्राहरलाई निष्तेज परेर जनताको बहुदलिय जनवादमा आधारीत सुखी नेपाली समृद्ध नेपालको यात्रामा अगाडी वढने मार्ग प्रशस्त हुन्छ । सकारात्मक निर्णयको लागि अग्रिम शुभकामना ।

















