२१ मंसिर, काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले हालै सडक विस्तारका क्रममा घर र व्यवसाय गुमाएका प्रभावितहरूलाई राहत र पुनस्र्थापनाका लागि महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।
आज बसेको उपमहानगरको ७६औं कार्यपालिका बैठकले सडक विस्तारमा सहयोग पुर्याउने सबै सरोकारवालाहरूलाई धन्यवाद दिँदै प्रभावित घरधनी र व्यवसायीहरूको पुनरुत्थानका लागि विभिन्न पहल गर्ने निर्णय गरेको हो । उपमहानगरपालिकाले सडक विस्तारबाट प्रभावित घरधनीहरूलाई घर निर्माण खर्च जुटाउनका लागि सहुलियतपूर्ण ब्याजदरमा निश्चित समयसम्म ऋण उपलब्ध गराउन अर्थ मन्त्रालयमार्फत नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णय गरेको छ । त्यसैगरी, सडक विस्तारले गर्दा व्यवसायको निरन्तरता हुन नसकेका व्यवसायीहरूको लगत संकलन गरी उनीहरूको व्यवसाय पुनः सुरु नहुँदासम्मका लागि व्यवसाय कर छुट दिन नगर सभा समक्ष पेस गर्ने निर्णय भएको छ ।
आवास व्यवस्थापन र अन्य सहजीकरण
सडक विस्तारका कारण जग्गाको अंश नरहने तथा अन्यत्र घरजग्गा नभएका घरधनीहरूलाई घरबारविहीन हुनबाट रोक्न वडा कार्यालयमार्फत विवरण संकलन गर्ने र आयोजनामार्फत आवास व्यवस्थापन गर्नका लागि उपमहानगरपालिकाले सहजीकरण र समन्वय गर्ने निर्णयसमेत गरेको छ । यसका साथै, उपमहानगरले प्रभावित क्षेत्रमा हेटौंडाको पहिचान झल्किने गरी नमूना र सौन्दर्यता कायम गर्न उपयुक्त घर निर्माण मोडल तयार गरी कार्यान्वयन गर्न सहजीकरण गर्ने भएको छ ।
भवन निर्माणलाई सहज बनाउन छोटो प्रक्रियाबाट प्राविधिक सहयोगसहित नक्सापास लगायतका सेवा प्रवाह गर्ने र २००० वर्गफिटसम्मको नक्सा पास दस्तुर छुट दिन नगर सभा समक्ष पेस गर्ने निर्णय गरिएको छ ।
















