२४ मंसिर,काठमाडौं । सहकारी विभागले सबै सहकारी संस्थाका संचालकलाई एकै समयमा दोहोरो वा तेहरो पदमा रहन नपाइने गरी कडाइ गरिएको निर्देशन जारी गरेको छ। विभागले सहकारी ऐन, २०७४ को प्रावधान अनुसार प्रत्येक व्यक्ति एकै समयमा केवल एक पदमा मात्रै रहनुपर्ने व्यवस्था कार्यान्वयन गर्न सबै सहकारी संस्थालाई अनुरोध गरेको छ।
सोमबार जारी गरिएको निर्देशनअनुसार, ऐनको दफा ४१ (५) अनुसार कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको संचालक हुन सक्छ भने दफा ४४ (१) को खण्ड (ग) अनुसार यदि कुनै संचालक अर्को सहकारी संस्थाको संचालक भएमा उनी आफ्नो पदमा बहाल रहन सक्दैनन्।
सहकारी विभागले भनेको छ कि हाल केही व्यक्तिहरू नियामक निर्देशन र मापदण्डलाई नमानिकन दोहोरो पदमा कार्यरत देखिएका छन्। यसलाई ध्यानमा राख्दै विभागले कानुनी प्रावधानको यथाशीघ्र कार्यान्वयन गर्न सबै सहकारी संस्था र संचालक सदस्यलाई निर्देशन दिएको हो।
निर्देशनमा राष्ट्रिय सहकारी नियमन प्राधिकरण, नेपाल राष्ट्र बैंक तथा सहकारी संघ संस्थाद्वारा जारी नियामक मापदण्डहरूको पालना गर्न पनि भनिएको छ। यसअनुसार कुनै पनि सदस्य एकै अवधिमा एकभन्दा बढी संस्थामा संचालक वा पदाधिकारी हुन सक्दैन।
सहकारी विभागले जनाएको छ कि सहकारी क्षेत्रमा सुशासन प्रबर्द्धन गर्नु, कानुनको पालना गर्नु, स्रोतको दुरुपयोग रोक्नु र संचालक समितिको वैधानिकता कायम राख्नु अत्यावश्यक छ। विभागले स्पष्ट पारेको छ कि नियमनकारी निकायहरूले अनुगमन, निरीक्षण र सुपरीवेक्षणको क्रममा कानुनी प्रावधानको पालनामा कमी पाएको खण्डमा सहकारी ऐन र नियमावलीअनुसार कारबाही गरिनेछ।















