२४ मंसिर,काठमाडौं । म्यानमारमा अवैध रूपमा सञ्चालनमा रहेका अनलाइन स्क्यामिङ केन्द्रमा बन्धक बनाइ काम गराइएका ४७ जना नेपाली श्रमिकको उद्धार गरिएको छ। थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले थाइल्यान्ड र म्यानमार सरकारसँगको समन्वयमा उनीहरूलाई मुक्त गरी आज नेपाल पठाएको हो।
दूतावासले जारी गरेको विज्ञप्तिअनुसार उद्धार गरिएका नेपालीहरू म्यानमारको म्यावाडी क्षेत्रस्थित श्वे कोक्को र के–के पार्कमा अवैध स्क्यामिङ गतिविधिमा संलग्न हुन बाध्य बनाइएका थिए। उद्धार भएकामध्ये दुई महिला सहित २६ जिल्लाका १७ देखि ४१ वर्ष उमेर समूहका ४७ जना रहेका छन्। उनीहरू दुई महिना देखि १८ महिनासम्म ती केन्द्रहरूमा काम गर्न बाध्य भएको उल्लेख छ।
नेपालीहरूलाई म्यानमार सेनाले छापा मारेर उद्धार गरेको हो। त्यसपछि उनीहरूलाई लिन दूतावासको टोली थाइल्यान्ड–म्यानमार सीमा क्षेत्र पुगेको दूतावासले जनाएको छ। स्क्याम केन्द्रहरूमा अझै कति नेपाली रहेका छन् भन्ने भने यकिन भइसकेको छैन।
यसअघि कात्तिक १९ गते पनि १४ जना नेपालीलाई बैंकक हुँदै नेपाल पठाइएको थियो। चालू आर्थिक वर्षमा अहिलेसम्म १ सय ४० जना नेपाली श्रमिकको उद्धार भइसकेको दूतावासले जनाएको छ।
पीडितहरूको भनाइअनुसार ‘डिजिटल मार्केटिङ विशेषज्ञ’, ‘ग्राहक सेवा प्रतिनिधि’ वा ‘आईटी सम्बन्धी काम’ देखाइ रोजगारीका लागि आकर्षित गराइएको थियो। कानुनी रूपमा म्यानमार प्रवेश गराए पनि कार्यस्थल पुगेपछि उनीहरूको पासपोर्ट खोसिएको र बन्धक अवस्थामै अवैध अनलाइन गतिविधिमा काम लगाइएको पाइएको छ।
म्यानमारको सूचना मन्त्रालयका अनुसार टेलिकम ठगी तथा अनलाइन जुवामा संलग्न समूहहरूले विदेशी कामदारलाई झुक्याई बन्धक बनाएर काम गराउँदै आएका छन्। सरकारले यस्ता अपराधलाई राष्ट्रिय प्राथमिकताका रूपमा लिएर नियन्त्रण अभियान तीव्र पारिएको मन्त्रालयले जनाएको छ।















