२६ मंसिर,काठमाडौं । सशस्त्र प्रहरी बलले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि ‘परिचालन नीति’ तय गरेको छ। फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै १७ बुँदे नीति तयार पारिएको सूचना अधिकारी एवं प्रवक्ता डीआईजी मनिष थापाले जानकारी दिए।
डीआईजी थापाले भने, “निर्वाचन पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न होस् भन्ने उद्देश्यका साथ तोकिएको जिम्मेवारी त्रुटिरहित ढंगले निर्वाह गर्न नीति तय गरिएको हो।”नीतिमा, निर्वाचनको एक महिनाअघि नै सुरक्षा वेश स्थापना गर्ने र स्ट्राइकिङ्ग तथा मोबाइल टोलीलाई १५ दिन अगाडिदेखि परिचालन गर्ने व्यवस्था गरिएको छ।
यसपटकको निर्वाचनलाई चुनौतीपूर्ण बनाउने कारणमा जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र कारागारबाट भागेका कैदीबन्दीहरू अझै नियन्त्रणमा नआएकाले सुरक्षा जोखिम उच्च रहेको डीआईजी थापाले बताए।



















