Logo

२ पुस, काठमाडौँ । निर्वाचन आयोगले चुनावी प्रचारप्रसारका क्रममा अत्यधिक झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ। आयोगले आउँदो फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रस्तावित आचारसंहितामा झण्डा प्रयोगसम्बन्धी नयाँ मापदण्ड समेटेको हो।

आयोगका अनुसार अब कुनै पनि राजनीतिक दलले आयोजना गर्ने आमसभा, जुलुस, कोणसभा वा घरदैलो कार्यक्रममा बढीमा १० वटा मात्र झण्डा प्रयोग गर्न पाउनेछन्। दलको झण्डा आवश्यकताभन्दा बढी प्रयोग भई दुरुपयोग नहोस् भन्ने उद्देश्यले संख्या तोकिएको आयोगले जनाएको छ।

प्रस्तावित आचारसंहिताअनुसार राजनीतिक दल वा उम्मेदवारले १० वटा झण्डासहित चुनाव चिह्न प्रयोग गर्न पाउनेछन् भने दल वा उम्मेदवारको नाम र चिह्न उल्लेख भएको एउटा मात्र तुल वा फ्लेक्स राख्न पाइने व्यवस्था गरिएको छ।

यसैगरी घरदैलो अभियानका क्रममा उम्मेदवार, प्रस्तावक र समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस प्रदर्शन गर्न नपाइने प्रस्ताव गरिएको छ। प्रचारप्रसारका क्रममा बाजागाजा, झाँकीसहित हिँड्न पनि निषेध गरिने व्यवस्था गरिएको छ।

आयोगले अनलाइन र डिजिटल माध्यममार्फत हुने प्रचारप्रसारलाई पनि कडाइ गर्ने प्रस्ताव गरेको छ। अनलाइन, वेबपेज, टेलिभिजन, स्क्रोलिङ, सपिङ मलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, बैंकका एटीएम र काउन्टरमा सन्देश, सडक नाटकजस्ता माध्यमबाट दल वा उम्मेदवारको प्रचारप्रसार गर्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ।

तर राजनीतिक दल वा उम्मेदवारले बढीमा एउटा निजी तथा आधिकारिक वेबपेजमा मात्र प्रचार सामग्री राख्न पाउनेछन्।

यसका साथै कुनै पनि प्रकारको भित्तेलेखन गर्न वा गराउन, चारपाङ्ग्रे सवारी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा वा ठेलागाडाजस्ता सवारी साधन प्रयोग गरी र्याली आयोजना गर्न वा प्रचारप्रसार गर्न नपाइने व्यवस्था पनि आचारसंहितामा समावेश गरिएको छ।

निर्वाचन आयोगले निर्वाचन प्रक्रियालाई स्वच्छ, शान्त र मर्यादित बनाउनका लागि यी व्यवस्था प्रस्ताव गरिएको जनाएको छ। प्रस्तावित आचारसंहिता लागू भएपछि चुनावी प्रचारप्रसारमा देखिँदै आएको अव्यवस्था र खर्च घट्ने अपेक्षा आयोगले गरेको छ।


सम्बन्धित समाचार