Logo

४ पौष, काठमाडौं ।  नेपाल बैंक लिमिटेडका लगानीकर्ताहरूका लागि यस वर्ष पनि लाभांशको प्रतीक्षा निरासामा परिणत भएको छ ।

बैंकको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेसँगै लगानीकर्ताहरूको हात पुनः खाली भएको हो । सरकारी स्वामित्वको लगानी रहेको यस ऐतिहासिक बैंकले लगातार तेस्रो वर्ष पनि लाभांश प्रस्ताव नगरेपछि बजारमा यसको वित्तीय अवस्था र प्रतिफललाई लिएर विभिन्न चर्चा सुरु भएको छ ।

सञ्चालक समितिले लाभांश वितरण नगर्ने निर्णयसहितको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकसमक्ष पठाउने निर्णय समेत गरिसकेको छ । अघिल्ला दुई आर्थिक वर्षमा पनि लाभांश नदिएको बैंकले यस पटक पनि सोही परम्परालाई निरन्तरता दिएपछि दोस्रो बजारका लगानीकर्ताहरूमा केही उत्साह घटेको देखिएको छ । राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएर आएपछि बैंकले आफ्नो वार्षिक साधारण सभा डाक्ने तयारी गरेको छ ।

लामो इतिहास बोकेको बैंकले लगातार तीन वर्षसम्म सेयरधनीलाई प्रतिफल दिन नसक्नुले बैंकको वितरणयोग्य मुनाफा र आन्तरिक जगेडा कोषको अवस्थामाथि लगानीकर्ताहरूले चासो व्यक्त गरेका छन् । सञ्चालक समितिको यो निर्णयसँगै अब आगामी साधारण सभाबाट पारित भएपछि मात्रै वित्तीय विवरणले अन्तिम रूप पाउनेछ । यसअघि लाभांशको आशामा रहेका साना लगानीकर्ताहरूका लागि बैंकको यो पछिल्लो निर्णय चुनौतीपूर्ण सावित भएको छ ।


सम्बन्धित समाचार