Logo

६ पौष, काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा उम्मेदवारले अनुमति बिना कुनै पनि सवारीसाधन प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ।

प्रस्तावित आचारसंहिताअनुसार, अनुमति प्राप्त सवारीसाधनबाहेक अन्य सवारी प्रयोग गरी निर्वाचन प्रचारप्रसार वा प्रचार सामग्री प्रदर्शन गर्न निषेध गरिएको छ। अनुमति बिना सवारी प्रयोग गरिएमा ट्राफिक प्रहरी वा अन्य सुरक्षाकर्मीले उक्त सवारी नियन्त्रणमा लिएर जिल्ला आचारसंहिता अनुमगन समितिलाई जानकारी गराउनुपर्ने व्यवस्था छ।

आयोगले अनुमतिका आधारमा सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवारको प्रचारमा बढीमा दुईवटा दुईपाङ्ग्रे, तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय वा यात्रिक शक्तिबाट चल्ने सवारीसाधन प्रयोग गर्न सकिने व्यवस्था प्रस्ताव गरेको छ। सवारीसाधन नचल्ने स्थानमा चारवटा घोडा प्रयोग गर्न पाइने व्यवस्था छ। विदेशी नम्बर प्लेटका सवारी प्रयोग निषेध गरिएको छ।

प्रस्तावित आचारसंहितामा स्पष्ट उल्लेख छ कि अनुमति प्राप्त सवारीसाधन अन्य दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन नपाइनेछ। साथै, मतदाता ओसारपसार गर्न अनुमति प्राप्त सवारी प्रयोग गर्न पाउने छैनन्। तर हिँड्डुल गर्न नसक्ने गर्भवती, सुत्केरी, बच्चा बोकेकी महिला, अपाङ्गता वा असक्तता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकको हकमा निर्वाचन अधिकृतले सवारी प्रयोग अनुमति दिन सक्ने व्यवस्था गरिएको छ।

त्यसैगरी, राजनीतिक दलले आफ्नोतर्फबाट मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्नेछ र आयोगले अनुमति दिएका मुख्य प्रचारकले हेलिकप्टर प्रयोग गर्न सक्ने व्यवस्था पनि प्रस्तावित आचारसंहितामा उल्लेख छ।

निर्वाचन आयोगले यस प्रस्तावित आचारसंहितासँगै निष्पक्ष, सुरक्षित र शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न सबै दल र उम्मेदवारलाई जिम्मेवार बनाउने उद्देश्य राखेको छ।


सम्बन्धित समाचार
भर्खरै