६ पौष, काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सरकारको अल्पकालीन ऋण व्यवस्थापनका लागि २१ अर्ब ४९ करोड २० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने प्रक्रिया अघि बढाएको छ ।
यसअघि नै जारी भएर परिपक्व हुन लागेका २८ दिने, ९१ दिने र ३६४ दिने ट्रेजरी बिलहरूलाई पुनः निरन्तरता दिनका लागि कार्यालयले भोलि बोलकबोल आह्वान गरेको हो । कार्यालयले नवीकरण गर्न लागेको कुल रकममध्ये २८ दिनका लागि ५ अर्ब, ९१ दिनका लागि १४ अर्ब ४९ करोड २० लाख र ३६४ दिनका लागि २ अर्ब रुपैयाँ छुट्याइएको छ ।
यस पटक नवीकरण हुन लागेका २८ दिने ट्रेजरी बिल आगामी माघ ६ गते, ९१ दिने चैत १० गते र एक वर्षे (३६४ दिने) ट्रेजरी बिल आगामी वर्ष २०८३ पुस ७ गते परिपक्व हुने तालिका रहेको छ । सोमबार हुने बोलकबोलमा बैंक तथा वित्तीय संस्थाहरूका साथै इच्छुक लगानीकर्ताहरूले अनलाइन माध्यमबाट आवेदन दिन सक्नेछन् । बोलकबोलबाट ब्याजदर निर्धारण भएपछि मंगलबार यी ट्रेजरी बिलहरू औपचारिक रूपमा निष्कासन ९जारी० गरिने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जानकारी दिएको छ ।
सरकारले आन्तरिक ऋण उठाउनका लागि ट्रेजरी बिललाई एक महत्वपूर्ण औजारको रूपमा प्रयोग गर्दै आएको छ। हाल बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता रहेको अवस्थामा यस्ता सरकारी ऋणपत्रहरूमा लगानीकर्ताको आकर्षण रहने देखिएको छ । ट्रेजरी बिल नयाँ ऋण उठाउन नभई पुरानै दायित्वलाई नयाँ समय अवधिका लागि कायम राख्न प्रयोग गरिने भएकाले यसले बजारमा थप मुद्रा प्रवाहमा ठूलो प्रभाव नपार्ने आर्थिक विश्लेषकहरूको बुझाइ छ ।















