७ पौष,काठमाडौं । नेपाली सुनचाँदी बजारमा सोमबार नयाँ इतिहास कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन र चाँदी दुवैको मूल्यले अहिलेसम्मका सबै रेकर्ड तोड्दै उच्च विन्दुमा पुगेको हो । विशेषगरी सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ३ हजार ४ सय रुपैयाँले वृद्धि भई २ लाख ६१ हजार ७ सय रुपैयाँ पुगेको छ । ठ्याक्कै एक साताअघि कायम भएको २ लाख ६० हजार ७ सय रुपैयाँको रेकर्डलाई उछिन्दै सुनले नयाँ उचाइ तय गरेको हो ।
सुनसँगै चाँदीको मूल्यमा पनि तीव्र उछाल देखिएको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला १३० रुपैयाँले बढेर चाँदीको मूल्य ४ हजार २३५ रुपैयाँ कायम भएको छ, जुन हालसम्मकै उच्च दर हो। अघिल्लो दिन चाँदी ४ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो । केही दिनयता चाँदीको भाउले लगातार नयाँ रेकर्ड बनाउँदै गएको छ, जसले गर्दा गहना बजारमा मूल्यको चाप बढ्दो देखिन्छ
यसरी स्थानीय बजारमा मूल्य वृद्धि हुनुको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा देखिएको उत्तारचढाव नै हो। अन्तर्राष्ट्रिय बजारमा सोमबार नेपाली समय अनुसार बिहान १०ः५० बजे सुनको भाउ प्रतिऔंस ४,३९७ अमेरिकी डलर र चाँदी प्रतिऔंस ६९।३७ डलर पुगेको छ। विश्वव्यापी आर्थिक परिस्थिति र लगानीकर्ताहरू सुरक्षित लगानीका रूपमा बहुमूल्य धातुमा केन्द्रित हुँदा दुवै धातुको मूल्यले विश्वभर नै नयाँ रेकर्ड कायम गरेको विश्लेषण गरिएको छ।















