Logo

११ पुष, काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र नियमित महाधिवेशनको अन्योलका बीच विशेष महाधिवेशन’ को माग गर्ने पक्षले नेतृत्वलाई पुनः दबाब दिएको छ ।

पूर्वनिर्धारित समयमा नियमित महाधिवेशन हुने लक्षण नदेखेपछि चिन्तित बनेको यो समूहले शुक्रबार पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेटेर ध्यानाकर्षण गराउँदै ‘स्मरण पत्र’ बुझाएको हो । पार्टीको वैधानिकता बचाउन र साङ्गठनिक गतिरोध अन्त्य गर्न विशेष महाधिवेशन नै अचूक विकल्प भएको जिकिर गर्दै उक्त पक्षले नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

स्मरण पत्र बुझाएपछि नेता देवराज चालिसेले नियमित महाधिवेशनका नाममा पार्टीलाई लामो समय अलमलमा राख्न नहुने स्पष्ट पार्नुभयो । उहाँका अनुसार यदि नियमित प्रक्रियाबाट महाधिवेशन सम्भव छैन भने विधानको व्यवस्था बमोजिम विशेष महाधिवेशनको बाटो रोज्नुको विकल्प छैन । यो समूहले पार्टीको आन्तरिक लोकतन्त्रलाई जीवित राख्न देशव्यापी रूपमा हस्ताक्षर अभियान नै सञ्चालन गरिरहेको छ, जसले पार्टी संस्थापन पक्षलाई ठूलो दबाब सिर्जना गरेको छ ।
यसअघि गत असोज २९ गते पनि यो समूहले विशेष महाधिवेशनकै माग गर्दै २ हजार ४ सय ८८ जना महाधिवेशन प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति खड्कालाई बुझाएको थियो । ठूलो संख्यामा प्रतिनिधिहरूको समर्थन रहेको दाबी गर्दै आएको यो पक्षले पटक(पटक स्मरण पत्र बुझाएर नेतृत्वलाई जिम्मेवार बन्न सचेत गराइरहेको छ ।

निर्वाचनको सम्मुखमा पार्टीभित्र देखिएको यो वैचारिक र साङ्गठनिक टकरावले आगामी दिनमा कांग्रेसको आन्तरिक राजनीतिलाई कुन दिशामा लैजान्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।


सम्बन्धित समाचार
भर्खरै