१२ पौष, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), देश विकास पार्टी र उज्यालो नेपालबीच एकताका लागि आज निर्णायक छलफल हुने भएको छ । रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र पूर्व प्राधिकरण प्रमुख कुलमान घिसिङबीच शनिबार अन्तिम तहको वार्ता हुने उज्यालो नेपालका नेता डा. ताराप्रसाद जोशीले जानकारी दिए ।
जोशीका अनुसार तीन दलबीच एकीकृत पार्टी गठन र नेतृत्व तथा शक्ति बाँडफाँटको खाका अधिकांश रूपमा सहमतिमा पुगेको छ । प्रस्तावित खाकाअनुसार केन्द्रीय कमिटी र आगामी निर्वाचनमा बालेन शाह र कुलमान घिसिङले २०-२० प्रतिशत, रवि लामिछानेले ४० प्रतिशत हिस्सा पाउने र बाँकी २० प्रतिशत हिस्सा जेनजी तथा अन्य राजनीतिक शक्तिहरूका लागि छुट्याउने विषयमा छलफल अघि बढेको छ ।
यद्यपि बालेन पक्षले भने ५० प्रतिशत हिस्साको माग गरिरहेको स्रोतको भनाइ छ। नेतृत्वको सवालमा आगामी प्रधानमन्त्रीका रूपमा बालेन शाहलाई नै अघि सार्ने विषयमा तीन दलबीच लगभग सहमति जुटेको बताइएको छ। त्यसपछिका कार्यकालमा आलोपालोको व्यवस्था गर्ने प्रस्तावमा पनि छलफल भइरहेको छ।
रास्वपाका तर्फबाट वार्ता टोलीका सदस्य शिशिर खनालले छलफल सकारात्मक रूपमा अघि बढे पनि केही विषय अझै टुंगिन बाँकी रहेकाले आज पुनः वार्ता गर्न लागिएको बताए। “आज लामिछाने र शाह फेरि वार्तामा बस्नुहुनेछ, त्यहीँबाट सम्झौताले अन्तिम रूप पाउने अपेक्षा छ,” खनालले भने।
यसअघि शुक्रबार दिनभर वार्ता समितिका सदस्यहरूले साझा सहमतिको बिन्दु खोज्ने प्रयास गरे पनि एकीकृत पार्टीमा अन्य नेताहरूको व्यवस्थापन, शक्ति सन्तुलन र जेनजी प्रतिनिधित्वका विषयमा केही जटिलता देखिएको स्रोतले जनाएको छ।
आजको निर्णायक छलफलबाट तीन दलबीच औपचारिक एकताको घोषणा हुने वा थप संवाद आवश्यक पर्ने भन्ने विषय स्पष्ट हुने राजनीतिक वृत्तको अनुमान छ।















