१३ पौष, काठमाडौँ । आगामी निर्वाचनमा एक भएर प्रतिस्पर्धा गर्ने उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच राजनीतिक एकतामा सहमति भएको छ। आइतबार बिहान दुवै पक्षले सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
सहमति अनुसार एकतापछि कायम हुने दलको नाम साविककै राष्ट्रिय स्वतन्त्र पार्टी रहनेछ। पार्टीको झण्डा, चुनाव चिह्न ‘घण्टी’ र केन्द्रीय कार्यालयसमेत यथावत् रहने सहमतिमा उल्लेख छ। दलको केन्द्रीय सभापति रवि लामिछाने नै रहनेछन् भने आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन्द्र शाहलाई अघि सारिनेछ।
सहमतिपत्रमा भ्रष्टाचार र कुशासनविरुद्ध जेनजीले गरेको आन्दोलनको अपनत्व लिँदै घाइते तथा सहिद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ। साथै, सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा आधारित बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गर्दै अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्य लिइएको छ।
एकतापछि पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउँदै युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा जिम्मेवारी दिने उल्लेख छ। सहमतिबमोजिम पार्टीसम्बन्धी सबै दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिनेछ।
यसैबीच सहमतिपछि सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लेखेका छन्, “सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ।”
सातबुँदे सहमतिले वैकल्पिक र परिवर्तनकामी राजनीतिक शक्तिहरूलाई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा ‘घण्टी’ चुनाव चिह्नअन्तर्गत गोलबद्ध हुन आह्वान गरेको छ। रास्वपा र बालेनबीचको यो एकतालाई आगामी निर्वाचनको सन्दर्भमा नयाँ राजनीतिक ध्रुवीकरणका रूपमा हेरिएको छ ।















