१३ पुष, काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाको कार्यकाल आइतबार मध्यरातदेखि समाप्त भएको छ ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको बन्दसूची बुझाउने प्रक्रिया आइतबारदेखि सुरु भएसँगै उनीहरूको संवैधानिक पदावधि प्राविधिक रूपमा अन्त्य भएको हो । संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दिने अघिल्लो दिनसम्म मात्र सभामुख र उपसभामुख पदमा बहाल रहने प्रावधान छ । सोही कारण, आइतबार राति १२ बजेपछि उनीहरू संसद्को नेतृत्वबाट औपचारिक रूपमा बिदा भएका छन् ।
सभामुख घिमिरेले कार्यकाल सकिएसँगै बालुवाटारस्थित सरकारी निवास छोड्ने तयारीलाई अन्तिम चरणमा पुर्याएका छन् । उनका सञ्चार विज्ञ शेखर अधिकारीका अनुसार सभामुखले नयाँ डेराको समेत व्यवस्था गरिसकेका छन् र अब उनी कार्यालय जानेछैनन् । यद्यपि, संसद् पुनर्स्थापनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र यसबारे कानुनी जवाफ दिनुपर्ने जटिलता कायमै रहेकाले उनले कुनै औपचारिक सार्वजनिक घोषणा भने गरेका छैनन्। अदालतको प्रक्रियामा प्रभाव पर्न सक्ने वा प्रक्रियागत कठिनाइ उत्पन्न हुन सक्ने आँकलन गर्दै घिमिरेले मौन रूपमा निवास सर्ने र पदीय जिम्मेवारीबाट अलग्गिने बाटो रोजेका छन् ।
यो बहिर्गमनसँगै संघीय संसद्को तल्लो सदन पूर्णतः नेतृत्वविहीन बनेको छ र देश निर्वाचनको माहोलमा होमिएको छ । निर्वाचन आयोगले आइतबार र सोमबार समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने कार्यसूची तय गरेसँगै सभामुख र उपसभामुखको कार्यकाल छोटिएको हो । संसद् विघटन पछिको संक्रमणकालीन अवस्थामा सभामुख र उपसभामुखले सम्हाल्दै आएको पदीय मर्यादा अब नयाँ निर्वाचनपछि बन्ने प्रतिनिधिसभाको पहिलो बैठकसम्मका लागि रिक्त रहनेछ । यसले एकातिर कानुनी र संवैधानिक प्रक्रियाको परिपालना भएको देखाउँछ भने अर्कोतिर अदालतमा विचाराधीन संसद् पुनर्स्थापनाको मुद्दाले भविष्यमा कस्तो मोड लिन्छ भन्ने चासो पनि उत्तिकै बढाएको छ ।















