Logo

१३ पुष, वीरगञ्ज । नेकपा पर्सा र अखिल (क्रान्तिकारी) का प्रभावशाली युवा नेता मिरोज अहमदलाई प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक उम्मेदवारमा सिफारिस गरिएको छ। अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवसमेत रहेका अहमदलाई पर्सा क्षेत्र नम्बर–३ बाट ‘मुस्लिम क्लस्टर’ अन्तर्गत समानुपातिक सांसदका रूपमा अघि सारिएको हो।

वि.सं. २०७३ सालमा अखिल (क्रान्तिकारी) को साधारण सदस्यका रूपमा विद्यार्थी राजनीति सुरु गरेका अहमद पछिल्लो एक दशकदेखि संगठन निर्माण र सुदृढीकरणमा सक्रिय रहँदै आएका छन्। नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता भई तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन हुँदा उनी पर्सा जिल्ला कमिटी सदस्यको जिम्मेवारीमा थिए।

अहमदले वीरगन्ज महानगर कमिटीको सह–संयोजक तथा सचिव हुँदै पर्सा जिल्ला अध्यक्षको रूपमा संगठन विस्तारमा उल्लेखनीय योगदान पुर्‍याएका छन्। हालै सम्पन्न अखिल (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनबाट उनी केन्द्रीय सचिव पदमा निर्विरोध निर्वाचित भएका थिए। उनको निर्विरोध चयनलाई संगठनभित्रको बलियो पकड र बढ्दो लोकप्रियताको संकेतका रूपमा हेरिएको छ।

विद्यार्थीका हकहितसँगै शिक्षा, रोजगारी, सामाजिक न्याय र सुशासनका मुद्दामा सक्रिय अहमद विशेषगरी वीरगन्जमा सञ्चालन भएको ‘जेन–जी’ (Gen-Z) आन्दोलनमा खेलेको नेतृत्वदायी भूमिकाका कारण युवा पुस्तामाझ परिचित छन्।

नेकपा पर्साका इन्चार्ज विजय महतोले मिरोज अहमदलाई युवा र नयाँ पुस्ताको आवाज सदनसम्म पुर्‍याउन सक्ने सक्षम नेताका रूपमा पार्टीले अघि सारेको बताए। “अहमदले जेन–जी पुस्ता र मुस्लिम समुदाय मात्र होइन, समग्र पर्साका युवाहरूको प्रतिनिधित्व गर्ने क्षमता राख्छन्,” महतोले भने।

दक्ष सांगठनिक क्षमता, सामाजिक उत्तरदायित्व र निरन्तर सक्रियताका कारण मिरोज अहमदको उम्मेदवारी सिफारिसलाई जिल्लाका युवा तथा विद्यार्थी राजनीतिमा सकारात्मक र आशालाग्दो कदमका रूपमा हेरिएको छ।


सम्बन्धित समाचार
भर्खरै