Logo

१४ पुष, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ सार्वजनिक गर्दै सञ्चारमाध्यममार्फत गरिने प्रचार–प्रसारलाई व्यवस्थित र मर्यादित बनाउन विभिन्न मापदण्डहरू तय गरेको छ ।

नयाँ व्यवस्था अनुसार राजनीतिक दल र उम्मेदवारहरूले रेडियो, टेलिभिजन, छापा माध्यमका साथै अनलाइन सञ्चारमाध्यमलाई समेत चुनावी विज्ञापनका लागि प्रयोग गर्न पाउने भएका छन् । विशेषगरी अनलाइन माध्यममा रोडब्लक, होमपेज ब्यानर र समाचारको बीचमा रहने बक्स विज्ञापनहरू राख्न दिने निर्णयले यस पटकको निर्वाचनमा डिजिटल प्रचारको प्रभाव बढ्ने देखिएको छ । तर, यस्ता अनलाइन विज्ञापनहरूमा अनिवार्य रूपमा ुसस्शुल्क विज्ञापनु भएको स्पष्ट जनाउ दिनुपर्ने बाध्यकारी नियम आयोगले लागू गरेको छ ।

विद्युतीय सञ्चारमाध्यम तर्फ रेडियो, एफएम र टेलिभिजनमा दल तथा उम्मेदवारहरूले २४ घण्टामा बढीमा चार पटक मात्र विज्ञापन प्रसारण गर्न पाउनेछन्। यस्तो विज्ञापन एक पटकमा अधिकतम एक मिनेटको हुनुपर्ने र दुई विज्ञापनको बीचमा कम्तीमा एक घण्टाको अन्तराल हुनुपर्ने प्रावधान राखिएको छ । यस्तै, छापा माध्यमका हकमा दैनिक कुनै एउटा पत्रिकामा बढीमा चार कोलम गुणा २५ सेन्टिमिटर उचाइसम्मको आकारमा मात्र प्रचार सामग्री प्रकाशित गर्न पाइनेछ । आयोगले पहिलो हुने निर्वाचित हुने प्रणाली ९प्रत्यक्ष० तर्फका उम्मेदवार र राजनीतिक दल दुवैका लागि विज्ञापनको यो सीमा समान रूपमा लागू हुने स्पष्ट पारेको छ ।

आयोगले सूचना प्रविधिको बढ्दो प्रयोगलाई ध्यानमा राख्दै अनलाइन सञ्चारमाध्यमका लागि विशेष निगरानी गर्ने नीति लिएको छ । सूचना तथा प्रसारण विभागमा दर्ता भई प्रेस काउन्सिलमा सूचीकृत भएका अनलाइनहरूले मात्र यस्ता विज्ञापन लिन पाउनेछन् । अनलाइन माध्यमबाट गरिने प्रचारमा कसैप्रति गालीगलौज, मिथ्या सूचना, दुष्प्रचार वा द्वेषपूर्ण अभिव्यक्ति समावेश गर्न पाइने छैन ।

साथै, सञ्चारमाध्यममा गरिने सबै प्रकारका विज्ञापनको खर्च विवरण उम्मेदवारले कानुनबमोजिम बुझाउनुपर्ने निर्वाचन खर्चको विवरणमा समावेश गर्नुपर्नेछ । आयोगले विदेशी सञ्चारमाध्यमबाट भने कुनै पनि प्रकारको चुनावी प्रचार सामग्री प्रकाशन वा प्रसारण गर्न पूर्ण रूपमा निषेध गरेको छ ।


सम्बन्धित समाचार
भर्खरै