Logo

१४ पुष, वीरगञ्ज । प्रगतिशील लोकतान्त्रिक पार्टी मधेस प्रदेशको एकता बैठकबाट पर्सा जिल्ला इन्चार्जमा अमिताभ बच्चन दास सर्वसम्मत रूपमा चयन हुनुभएको छ।

वीरगञ्जस्थित ओम होटल एन्ड पार्टी प्यालेस, ब्रमचौकमा शनिबार सम्पन्न पार्टीको विशेष बैठकले दासलाई जिल्लाको नेतृत्व गर्ने जिम्मेवारी सुम्पिएको हो। मधेस प्रदेश इन्चार्ज शिवचन्द्र कुश्वाहाको अध्यक्षतामा भएको उक्त बैठकमा पार्टी केन्द्रका अध्यक्ष परिषद् सदस्य सुरेन्द्र जैसवाल अशोक प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि जैसवालले मधेसको मुद्दा र जनताका अधिकारका लागि पार्टीले सशक्त भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो। उहाँले संगठनलाई जगैदेखि मजबुत बनाउन नयाँ नेतृत्वले विशेष योजनाका साथ अघि बढ्नुपर्ने बताउनुभयो।

पर्सा जिल्ला इन्चार्जको जिम्मेवारी पाउनुभएका नवनियुक्त इन्चार्ज अमिताभ बच्चन दासले पार्टीले सुम्पिएको जिम्मेवारीलाई पूर्ण निष्ठाका साथ निभाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “पार्टीको नीति र सिद्धान्तलाई आत्मसात् गर्दै पर्सामा संगठन विस्तार र जनसरोकारका मुद्दाहरूलाई प्राथमिकतामा राखेर म सक्रिय रूपमा लाग्नेछु।”

बैठकमा पार्टी संगठन सुदृढीकरण, आगामी रणनीतिक योजना तथा मधेस प्रदेशमा पार्टीको प्रभावकारी भूमिकाबारे गहन छलफल भएको थियो। कार्यक्रममा मधेस प्रदेशका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

बैठकले आगामी दिनमा पर्सा जिल्लामा राजनीतिक गतिविधिलाई तीव्रता दिने र आम जनताका समस्या समाधानका लागि सडकदेखि सदनसम्म आवाज उठाउने निर्णय समेत गरेको छ।


सम्बन्धित समाचार
भर्खरै