Logo

१६ पुष, काठमाडौं । नेपाली बैंकिङ्ग प्रणालीमा थुप्रिएको अत्यधिक लगानीयोग्य रकम (तरलता) व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले सक्रियता बढाएको छ। बजारमा कर्जाको माग सुस्त रहेका बेला बैंकहरूले आफ्नो ढुकुटीमा थन्किएको पैसा सुरक्षित ठाउँमा राख्न हारालुछ गरिरहेका छन् ।

पछिल्लो पटक राष्ट्र बैंकले निष्कासन गरेको २५ अर्ब रुपैयाँको ऋणपत्रका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट १ खर्ब २० अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको आवेदन पर्नुले तरलताको चाप कति गहिरो छ भन्ने पुष्टि गर्दछ । सर्वसाधारणको निक्षेपमा ब्याज तिर्नुपर्ने दबाबमा रहेका बैंकहरूले सस्तो ब्याजदरमै भए पनि राष्ट्र बैंकको ऋणपत्रमा लगानी गरेर तरलताको बोझ पन्छाउन खोजेका हुन् ।

वर्तमान अवस्थामा बैंकिङ्ग प्रणालीमा करिब ११ खर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएको तथ्याङ्कले देखाउँछ । कुल निक्षेप ७५ खर्ब ९२ अर्ब पुग्दा कर्जा प्रवाह भने ५६ खर्ब ९० अर्बमा खुम्चिएको छ। कोभिड-१९ पछिको सुस्त आर्थिक पुनरुत्थान, निजी क्षेत्रको कमजोर मनोबल, पछिल्ला राजनीतिक तरङ्ग र आन्दोलनहरूका कारण बजारमा नयाँ लगानीको वातावरण बन्न नसक्दा बैंकहरूमा निक्षेप मात्र थुप्रिने क्रम बढेको हो । बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहालका अनुसार, बैंकहरूले आफ्नो स्रोतलाई निष्क्रिय राख्नुभन्दा २-३ प्रतिशतकै न्यून प्रतिफलमा भए पनि राष्ट्र बैंकमा पैसा व्यवस्थापन गर्नुलाई सुरक्षित विकल्प मानेका छन् ।

तरलता व्यवस्थापनलाई चुनौतीपूर्ण देख्दै राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले संरचनागत प्रकृतिको तरलता खिच्न ऋणपत्रको अवधारणा अघि सार्नुभएको हो । यसअघि छोटो अवधिको निक्षेप संकलन उपकरणमार्फत ८ खर्बभन्दा बढी रकम खिचिसकेको केन्द्रीय बैंकले अहिले दीर्घकालीन समाधानका लागि एक वर्षे ऋणपत्रको सहारा लिएको छ । बजारमा तरलता प्रशस्त हुँदा निक्षेप र कर्जा दुवैको ब्याजदर घट्दो क्रममा रहे पनि प्रभावकारी कर्जा माग नहुँदा समग्र अर्थतन्त्रमा भने यसको सकारात्मक प्रभाव देखिन बाँकी नै छ ।


सम्बन्धित समाचार
भर्खरै