२५ पुष, काठमाडौं । नेपालको अर्थतन्त्रको मुख्य मेरुदण्डका रूपमा रहेको विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा उछाल आएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मङ्सिर मसान्तसम्मको वित्तीय विवरण अनुसार, देशमा भित्रिने रेमिट्यान्स अघिल्लो वर्षको तुलनामा ३५ दशमलव ६ प्रतिशतले वृद्धि भई ८ खर्ब ७० अर्ब ३१ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा रेमिट्यान्स वृद्धिदर केवल ४ दशमलव ७ प्रतिशतमा खुम्चिएको थियो, जसको तुलनामा यस वर्षको तथ्याङ्कले अर्थतन्त्रमा ठुलो वैदेशिक मुद्राको सञ्चिति थपिने संकेत गरेको छ ।
अमेरिकी डलरको तुलनामा पनि रेमिट्यान्सको वृद्धिदर उच्च देखिएको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा डलरमा २९ प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड अमेरिकी डलर नेपाल भित्रिएको छ । अघिल्लो वर्ष डलर आप्रवाहमा मात्र ३।४ प्रतिशतको झिनो बढोत्तरी देखिएको थियो । विशेष गरी मङ्सिर महिनामा मात्रै १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ भित्रिएको छ, जुन गत वर्षको सोही महिनाको तुलनामा करिब ६४ अर्बले बढी हो । यसले नेपाली कामदारको संख्यासँगै उनीहरूको आम्दानी र पठाउने माध्यममा आएको सुधारलाई समेत प्रतिविम्बित गर्दछ ।
वैदेशिक रोजगारीको तथ्याङ्कले पनि रेमिट्यान्स बढ्नुको आधार स्पष्ट पारेको छ । पाँच महिनाको अवधिमा १ लाख ७५ हजार ५९१ नेपालीले नयाँ अन्तिम श्रम स्वीकृति लिएका छन् भने १ लाख ६३ हजार ९२४ जनाले पुनः श्रम स्वीकृति लिएर कार्यथलो फर्किएका छन् । पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि भएको देखिन्छ ।
यसैगरी, खुद ट्रान्सफर ९द्वितीय आय० पनि ७०० अर्बबाट बढेर ९५४ अर्ब ७८ करोड पुगेको छ । वैदेशिक रोजगारीमा जानेहरूको सक्रियता र डलरको मजबुत विनिमय दरका कारण नेपालको रेमिट्यान्समा यो ऐतिहासिक वृद्धि देखिएको हो ।















