२८ पौष, काठमाडौँ । इरानको राजधानी तेहरानसहित देशका प्रमुख सहरहरूमा सरकार विरोधी प्रदर्शनले भयावह रूप लिएको छ । पछिल्लो २४ घण्टामा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको हिंसात्मक झडपमा ५ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको दाबी अधिकारवादी संस्थाहरूले गरेका छन् ।
राष्ट्रपति मसुद पेजेस्कियानले आर्थिक सुधारको प्याकेज घोषणा गर्दै शान्त रहन आग्रह गरे पनि प्रदर्शनकारीहरूले अहिलेको शासन व्यवस्था नै परिवर्तन हुनुपर्ने माग राख्दै सडक आन्दोलनलाई थप सशक्त बनाएका छन् ।
इरानको बढ्दो तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा ‘चाँडै’ भन्दै एउटा रहस्यमयी सन्देश राखेका छन्, जसले विश्व राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ। ट्रम्पले इरानी सरकारलाई आफ्ना नागरिकको हत्या तत्काल रोक्न चेतावनी दिँदै यदि दमन जारी रहे अमेरिकाले ‘कडा कदम’ चाल्ने स्पष्ट पारेका छन् ।
अमेरिकी प्रशासनले इरानमा भइरहेको मानव अधिकारको गम्भीर उल्लङ्घनलाई लिएर नयाँ प्रतिबन्ध वा सैन्य हस्तक्षेपसम्मको विकल्पमा छलफल गरिरहेको बुझिएको छ।
यता, इरानी सरकारले भने आफ्नो देशमा भइरहेको अशान्तिको पछाडि अमेरिका र इजरायलको हात रहेको आरोप लगाएको छ । तेहरानले एक विज्ञप्ति जारी गर्दै यदि अमेरिकाले आन्तरिक मामिलामा हस्तक्षेप गरेमा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य आधार इलाकाहरूलाई निशाना बनाउने र कडा प्रतिकार गर्ने धम्की दिएको छ ।
इरानभित्रको आन्तरिक विद्रोह र अमेरिका-इरानबीचको वाकयुद्धले मध्यपूर्वको सुरक्षा स्थिति थप नाजुक बनेको छ । तेल आपूर्तिमा आउन सक्ने अवरोध र क्षेत्रीय युद्धको सम्भावनालाई लिएर विश्व समुदायले चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्र सङ्घ र युरोपेली युनियनले दुवै पक्षलाई संयमता अपनाउन र हिंसा अन्त्य गर्न अपिल गरेका छन् ।















