२८ पौष, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई ‘सम्झौता’ गर्न वा गम्भीर परिणाम भोग्न तयार रहन भन्दै कडा चेतावनी दिएका छन् । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकी सेनाले पक्राउ गरेपछि उत्साहित देखिएका ट्रम्पले अब आफ्नो ध्यान छिमेकी टापु राष्ट्र क्युबातर्फ सोझ्याएका हुन् ।
आइतबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत ट्रम्पले क्युबालाई भेनेजुएलाबाट प्राप्त हुँदै आएको तेल र पैसाको प्रवाह पूर्ण रूपमा रोकिने घोषणा गरेका छन् । क्युबाले भेनेजुएलाका ‘तानाशाह’लाई सुरक्षा प्रदान गरेको बदलामा वर्षौँदेखि इन्धन र रकम लिँदै आएको आरोप लगाउँदै ट्रम्पले लेखेका छन्, “अब क्युबामा केही जाने छैन, केवल शून्य ! धेरै ढिलो हुनुअघि नै उनीहरूले सम्झौता गरुन् भन्ने म दृढ सुझाव दिन्छु ।”
गत ३ जनवरीमा भेनेजुएलाको राजधानी काराकसमा अमेरिकी सेनाले छापा मारी मादुरो र उनकी पत्नीलाई पक्राउ गरेको थियो । सोही अपरेसनका क्रममा मादुरोको सुरक्षामा खटिएका ३२ जना क्युबाली नागरिक मारिएको क्युबा सरकारले पुष्टि गरेको छ ।
ट्रम्पले भेनेजुएलालाई अब क्युबाली ‘गुण्डाहरू’को सुरक्षा नचाहिने भन्दै अमेरिकी सेनाले नै त्यहाँको रक्षा गर्ने दाबी गरेका छन् । उनले क्युबाली प्रभावलाई अन्त्य गर्न भेनेजुएलाबाट हुने दैनिक ३५ हजार ब्यारेल तेलको आपूर्तिमा समेत रोक लगाएका छन्, जसका कारण क्युबामा अहिले ऊर्जा र बिजुलीको ठुलो सङ्कट सुरु भइसकेको छ।
ट्रम्पको धम्कीप्रति क्युबाले कडा प्रतिक्रिया दिएको छ। क्युबाका राष्ट्रपति मिगुएल डियाज कानेलले मानव जीवनलाई व्यापार बनाउनेहरूसँग क्युबामाथि औँला उठाउने कुनै नैतिक अधिकार नभएको बताएका छन् । त्यस्तै, विदेशमन्त्री ब्रुनो रोड्रिग्वेजले जुनसुकै देशबाट हस्तक्षेपबिना इन्धन आयात गर्ने अधिकार क्युबासँग सुरक्षित रहेको भन्दै ट्रम्पले क्युबाको भविष्य निर्धारण गर्न नसक्ने स्पष्ट पारेका छन् ।
ट्रम्पले सन् १८२३ को ‘मोनरो सिद्धान्त’लाई परिमार्जन गरी आफ्नै नामबाट ‘डनरो सिद्धान्त’ अघि सारेका छन्। यसको उद्देश्य पश्चिमी गोलार्धमा अमेरिकी वर्चस्व कायम गर्नु र विरोधी विचारधाराका सरकारहरूलाई हटाउनु रहेको छ ।
ट्रम्पले क्युबा र भेनेजुएला मात्र नभई कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोलाई समेत सैन्य कारबाहीको सङ्केत दिँदै सतर्क रहन भनेका छन् । यता, मेक्सिकोका लागुऔषध कार्टेलहरूविरुद्ध अमेरिकी सेना पठाउने ट्रम्पको प्रस्तावलाई त्यहाँकी राष्ट्रपति क्लाउडिया सेनबाउमले ठाडै अस्वीकार गरेकी छिन् ।
सन् १९५९ मा फिडेल कास्ट्रोले सत्ता सम्हालेदेखि नै अमेरिका र क्युबाबीचको सम्बन्ध शत्रुतापूर्ण रहँदै आएकोमा ट्रम्पको दोस्रो कार्यकालले यो द्वन्द्वलाई युद्धको सङ्घारमा पुर्याएको विश्लेषण गरिएको छ ।















