Logo

२८ पुष, माडी चितवन । चितवनको माडी नगरपालिका वडा नं. ९, गणेशकुन्जामा बसोबास गर्ने वृद्ध–वृद्धा, अपाङ्ग र सीमान्तकृत समुदायका असहायहरूलाई चिसो मौसमको कहर छल्न उपकार सेवा नेपालले न्यानो कम्बल वितरण गरेको छ।

सामाजिक सेवामा बलियो पहिचान बनाएको उपकार सेवा नेपाल ले गणेशकुन्जाका ३१ जना वृद्धवृद्धा तथा असहाय लाई न्यानो कम्बल उपलब्ध गराएको हो। चिसो जाडोका कारण कमजोर वर्गको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गर्दै संस्थाले यो सहयोग उपलब्ध गराएको संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी ले बताउनुभयो।

उपकार सेवाले उपलब्ध गराएको उक्त न्यानो कम्बल हस्तान्तरणका लागि आयोजित समारोहमा माडी नगरपालिका वडा नं ९ का वडा अध्यक्ष घनश्याम दवाडी र सोही वडाका पूर्व अध्यक्ष तथा समाजसेवी जयलाल देवकोटा ले संयुक्त रूपमा ३१ थान कम्बल वृद्ध–वृद्धा, अपाङ्ग र सीमान्तकृत समुदायका व्यक्तिहरूलाई हस्तान्तरण गर्नुभयो।

संस्थाकी अध्यक्ष सरावगीले जाडोको समयमा समाजका कमजोर वर्गलाई न्यानोपन दिनु संस्थाको कर्तव्य भएको बताउनुभएको सन्देश वडा अध्यक्ष दवाडीले राख्नुभएको थियो। उहाँले आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

वडा अध्यक्ष दवाडीले यसअघि पनि उपकार सेवा नेपालले माडी नगरपालिका वडा नं. ९ मा महत्त्वपूर्ण सहयोगहरू गरिसकेको जानकारी गराउनुभयो। उहाँका अनुसार वीरगञ्जमा रहेको यस संस्थाले वडा नं. ९ को वगहीका बाढीपीडित, आगलागीपीडित र विपन्न ३५० घर परिवारलाई कम्बल वितरण गरेको थियो।

यसबाहेक, उपकार सेवाले वडामा अपाङ्गता भएका ७ जना परिवारलाई ह्वीलचेयर, गणेश आधारभूत विद्यालयलाई १० थान पङ्खा र वडा नं ९ मा रहेका धार्मिक स्थलमा समेत ५ थान पङ्खा उपलब्ध गराएको अध्यक्ष दवाडीले जानकारी दिनुभयो।

वडा अध्यक्ष दवाडीले वीरगञ्जमा रहेको संस्थाबाट माडीसम्म सहयोग उपलब्ध गराउन सहजीकरण गर्नुभएकोमा सामुदायिक रेडियो प्रसारक सङ्घका वरिष्ठ उपाध्यक्ष एवं माडीवासी गोविन्द देवकोटा लाई धन्यवाद समेत व्यक्त गर्नुभयो।

न्यानो कम्बल वितरण कार्यक्रम राममन्दिर सञ्चालक समितिका अध्यक्ष नारायणदत्त आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सहजीकरण गणेश आधारभूत विद्यालयका प्रधानाध्यापक तोयनाथ अधिकारीले गर्नुभएको थियो। कार्यक्रममा टोल सुधार समितिका अध्यक्ष ऋखीराम भण्डारी, समाजसेवी विष्णु अधिकारी, कृष्णप्रसाद शर्मा लगायतको उपस्थिति रहेको थियो।

चिसो बढ्दै गएको यस समयमा प्राप्त न्यानो कम्बलले अप्ठ्यारो अवस्थामा रहेका व्यक्तिहरूलाई उल्लेखनीय राहत पुग्ने विश्वास गरिएको छ। सामाजिक अभियन्ता प्रकाश थारूले यस्ता मानवीय कार्यले समाजमा सकारात्मक परिवर्तन ल्याउने उल्लेख गर्दै सबैलाई सहयोगी हात फैलाउन आग्रह गर्नुभयो।


सम्बन्धित समाचार
भर्खरै