४ माघ,धरान । धरानमा स्कुल बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ।
धरान–१३ स्थित जिरो प्वाइन्ट क्षेत्रमा आइतबार दुर्घटना भएको हो। भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको स्कुल बस जिरो प्वाइन्ट नजिक अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
धरानका प्रहरी प्रमुख भीषणबाबु राई का अनुसार बस स्कुल बस भए पनि दुर्घटनाका बेला बसमा विद्यार्थी भने सवार थिएनन्।
दुर्घटनाका क्रममा बसले सडक छेउमा रहेको ‘न्यु शबा मेडिकल’ नामक औषधि पसलमा ठक्कर दिँदा पसलमा समेत क्षति पुगेको छ।
दुर्घटनामा मृत्यु भएका व्यक्तिहरू बसभित्र सवार थिए वा बाहिर रहेका थिए भन्ने विषयमा हालसम्म यकिन हुन नसकेको इलाका प्रहरी कार्यालय धरान ले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनासम्बन्धी थप विवरण संकलन गर्ने काम भइरहेको र विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ।














