६ माघ, वीरगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा प्रमुख राजनीतिक दलहरूले उम्मेदवारको टुङ्गो लगाएका छन् । उम्मेदवार छनोटसँगै जिल्लाको राजनीतिक समीकरणमा नयाँ मोड आएको छ भने केही दलभित्र तीव्र असन्तुष्टि समेत देखिएको छ ।
नेकपा एमालेले पर्सा-१ बाट भर्खरै पार्टी प्रवेश गरेका पूर्वमन्त्री प्रदीप यादवलाई टिकट दिएको छ भने क्षेत्र नं. २ बाट रिमा यादव, ३ बाट युवा उद्यमी रुपेश पाण्डे र ४ बाट जालिम मियाँलाई मैदानमा उतारेको छ । तर, जिल्ला कमिटीको सिफारिस लत्याएर नवप्रवेशीलाई प्राथमिकता दिएको भन्दै पूर्वकेन्द्रीय सदस्य अरविन्द सिंहले टिकट वितरणलाई “मनपरि र नाटक” को संज्ञा दिएका छन् ।
अर्कोतर्फ, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पनि आफ्ना उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । जसअनुसार क्षेत्र नं. १ बाट चार्टर्ड एकाउन्टेन्ट अजय चौरसिया, क्षेत्र नं. २ बाट युवा नेता मनोज चौधरी, क्षेत्र नं. ३ बाट छोटेलाल यादव र क्षेत्र नं. ४ बाट संविधान सभा सदस्य जयप्रकाश थारुले प्रतिस्पर्धा गर्नेछन् । थारु केही दिनअघि मात्रै एमाले छाडेर नेकपामा प्रवेश गरेका हुन् भने चौरसिया राजनीतिमा नयाँ अनुहार हुन् ।
यता, नेपाली कांग्रेसले भने पुराना अनुहारलाई नै दोहोर्याउँदै क्षेत्र नं. १ बाट अनिल रुंग्टा, २ बाट अजयकुमार चौरसिया, ३ बाट सुरेन्द्र चौधरी र ४ बाट रमेश रिजाललाई उम्मेदवार बनाएको छ, जसमा चौरसिया र रिजाल अघिल्लो निर्वाचनमा निर्वाचित भएका थिए ।
जसपा नेपालले यसपटक फरक रणनीति अपनाउँदै क्षेत्र नं. १ बाट रामनरेश यादव, २ बाट उद्योगी अशोक टेमानी र ४ बाट कृपासिन्धु चौधरीलाई अघि सारेको छ भने क्षेत्र नं. ३ को उम्मेदवार टुङ्गो लगाउन बाँकी रहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि क्षेत्र नं. १ बाट हरि पन्त, २ बाट सुशील साह कानु, ३ बाट रामाकान्त चौरसिया र ४ बाट टेकबहादुर शाक्यलाई उम्मेदवार चयन गरेको छ।
यस्तै, राप्रपाले पनि आफ्ना उम्मेदवारहरूको टुङ्गो लगाउँदै क्षेत्र नं. १ बाट नन्दकिशोर प्रसाद श्रीवास्तव, २ बाट विना जैसवाल, ३ बाट सुमेश्वरनाथ उपाध्याय र ४ बाट शान्त कुमार जोशीलाई चुनावी मैदानमा उतारेको छ। दलहरूले उम्मेदवार फाइनल गरेसँगै पर्सामा चुनावी चहलपहल ह्वात्तै बढेको छ ।
उम्मेदवारको सुची:
















