Logo

६ माघ, काठमाडौँ । नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा हुनुभएको छ ।

निर्वाचन आयोगमाथि गम्भीर लाञ्छना लगाएको आरोपमा सोमबार पोखराबाट पक्राउ पर्नुभएका प्रसाईंलाई काठमाडौँ ल्याएर सोधपुछ गरेपछि जिल्ला सरकारी वकिल कार्यालयको आदेशमा रिहा गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईका अनुसार आवश्यक परेको बेला उपस्थित हुने गरी उहाँलाई हाजिरी जमानीमा छाडिएको हो ।

प्रसाईंले निर्वाचन आयोगका पदाधिकारीहरूले ५२ करोड रुपैयाँ घुस खाएर नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्ष (गगन–विश्व पक्ष) लाई आधिकारिकता दिएको भनी सार्वजनिक रूपमा आरोप लगाउनुभएको थियो । संवैधानिक निकायको गरिमामा आँच पुर्‍याएको र तथ्यहीन आरोप लगाएको भन्दै उहाँविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको थियो। सोही सिलसिलामा प्रहरीले उहाँलाई पोखराबाट नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि राजधानी ल्याएको थियो ।

पक्राउ परेपछि प्रसाईंका समर्थकहरूले विरोध प्रदर्शन समेत गरेका थिए । यद्यपि, सरकारी वकिल कार्यालयले तत्काल थुनामा राखेर अनुसन्धान गर्नुपर्ने पर्याप्त आधार नदेखेपछि हाजिरी जमानीको विकल्प रोजेको बुझिएको छ । रिहा भए तापनि उहाँमाथि लागेको आरोपबारे अनुसन्धानको प्रक्रिया भने जारी नै रहने प्रहरीले जनाएको छ । आफ्ना कडा र विवादास्पद अभिव्यक्तिका कारण निरन्तर चर्चा र विवादमा रहँदै आउनुभएका प्रसाईंको यो पछिल्लो पक्राउ र रिहाइलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ ।


सम्बन्धित समाचार