Logo

६ माघ, काठमाडौँ । नेपाली कांग्रेसले काठमाडौँ क्षेत्र नम्बर १ बाट लगातार चार पटक विजयी हुनुभएका प्रभावशाली नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहलाई यस पटक उम्मेदवार नबनाउने अप्रत्याशित निर्णय गरेको छ ।

२०६४ सालदेखि सोही क्षेत्रबाट निरन्तर निर्वाचन जित्दै आउनुभएका सिंहलाई सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले यस पटक टिकटबाट वञ्चित गरेको हो । पार्टी नेतृत्वले सिंहलाई काठमाडौँ क्षेत्र नम्बर ७ बाट चुनाव लड्न प्रस्ताव गरेको भए तापनि उहाँले आफ्नो आधार क्षेत्र छाड्न अस्वीकार गरेपछि अन्ततः उहाँको नाम उम्मेदवारको सूचीबाट हटेको छ ।

पार्टीले सिंहको स्थानमा सभापति गगन थापानिकट मानिने युवा नेता प्रबल थापालाई काठमाडौँ–१ को टिकट सुम्पिएको छ । थापाको उम्मेदवारीसँगै कांग्रेसभित्र नयाँ तरङ्ग पैदा भएको छ । उम्मेदवार चयन भएका थापा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्कीका छोरी-ज्वाइँ हुनुहुन्छ । कार्कीका विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको म्याद तामेली गर्ने क्रममा अवरोध पुर्‍याएको आरोपमा थापालाई २०७३ सालमा अदालतले दोषी ठहर गर्दै १ हजार रुपैयाँ जरिवाना समेत गरेको थियो । कानुनी रूपमा अदालतबाट सजाय पाइसकेको व्यक्तिलाई पार्टीले टिकट दिएको भन्दै सिंह पक्षका कार्यकर्ताहरूले भने तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।

राजधानीको मुटु मानिने काठमाडौँ–१ मा लामो समयदेखि सिंह परिवारको विरासत रहँदै आएको थियो । तर, पार्टीको पछिल्लो आन्तरिक समीकरण र जेनजीआन्दोलनपछिको बदलिएको नेतृत्वको सोचका कारण पुराना हस्तीहरू विस्थापित हुने क्रम सुरु भएको देखिएको छ । अदालती म्याद तामेलीमा अवरोध गरेको पृष्ठभूमि भएका थापालाई उम्मेदवार बनाएर कांग्रेसले कस्तो सन्देश दिन खोजेको हो भन्ने विषयमा यतिबेला राजनीतिक वृत्तमा ठूलो बहस सुरु भएको छ । प्रकाशमान सिंहलाई टिकट नदिनु र थापालाई अघि सार्नुले काठमाडौँ कांग्रेसभित्र आगामी दिनमा कस्तो असर पार्छ भन्ने कुरा निर्वाचनको परिणामले नै देखाउनेछ ।


सम्बन्धित समाचार