Logo

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनका लागि देशभर उत्साहजनक रूपमा उम्मेदवारी मनोनयन दर्ता भइरहँदा पुँजी बजारमा पनि त्यसको सकारात्मक प्रभाव देखिएको छ ।

निर्वाचनले मुलुकमा राजनीतिक स्थिरता र आर्थिक चलायमानता ल्याउने अपेक्षामा लगानीकर्ताहरू उत्साहित देखिएका हुन् । यसैको सुखद प्रतिविम्बस्वरूप मंगलबार सेयर बजार परिसूचक नेप्से ४२ दशमलव २६ अंक (१ दशमलव ५८ प्रतिशत) ले बढेर २७१४ दशमलव ८१ बिन्दुमा उक्लिएको छ। बजारमा आएको यो बढोत्तरीले लगानीकर्ताको मनोबल उच्च रहेको संकेत गरेको छ ।

मंगलबार बजारका सबै उपसूचकहरूमा हरियाली छाएको छ । विशेषगरी होटल तथा पर्यटन क्षेत्रमा लगानीकर्ताको आकर्षण बढी देखिँदा यो उपसूचक सबैभन्दा धेरै ३।३६ प्रतिशतले वृद्धि भएको छ । दिनभर भएका १ लाख १५ हजारभन्दा बढी कारोबारबाट कुल ३ सय ३९ कम्पनीका २ करोड ५१ लाख ८५ हजार कित्ता सेयर किनबेच भएका छन् । यस क्रममा कारोबार रकम समेत उल्लेख्य रूपमा वृद्धि भई ११ अर्ब ८५ करोड रुपैयाँ नाघेको छ, जसलाई बजार विश्लेषकहरूले निर्वाचनको सरगर्मीसँगै बजारमा भित्रिएको तरलताको रूपमा व्याख्या गरेका छन् ।

कम्पनीगत आधारमा हेर्दा मंगलबार गुर्खाज फाइनान्सको सेयर मूल्यमा १० प्रतिशतको सर्किट लाग्दै सर्वाधिक कमाउने कम्पनी बनेको छ । त्यस्तै आँखुखोला जलविद्युत्, राप्ती हाइड्रो र एनआरएन इन्फ्रास्ट्रक्चर लगायतका कम्पनीको मूल्यमा पनि उच्च वृद्धि देखिएको छ । यद्यपि, एसबीएल डिबेन्चर र सुपरमादी हाइड्रो लगायतका केही धितोपत्रको मूल्यमा भने सामान्य गिरावट आएको छ । निर्वाचनको प्रक्रिया औपचारिक रूपमा अघि बढेसँगै लगानीकर्ताहरू आगामी दिनमा बजारले अझै गति लिनेमा विश्वस्त देखिएका छन् ।


सम्बन्धित समाचार