६ माघ, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर ५ बाट आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।
मंगलबार दिउँसो टोखा नगरपालिकास्थित श्री समाज भवनमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर पोखरेलले औपचारिक रूपमा मनोनयन पत्र दर्ता गराउनुभएको हो । काठमाडौँ–५ लाई आफ्नो परम्परागत राजनीतिक आधार क्षेत्र मान्दै आउनुभएका पोखरेलको यो उम्मेदवारीसँगै यस क्षेत्रमा चुनावी सरगर्मी तीव्र बनेको छ ।
मनोनयन दर्ता गराएपश्चात् सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता पोखरेलले लोकतान्त्रिक र बहुदलीय प्रणालीमा नयाँ दलहरूको उदय हुनु र निर्वाचनमा प्रतिस्पर्धा गर्नुलाई स्वाभाविक प्रक्रियाका रूपमा लिनुपर्ने बताउनुभयो । जेनजी आन्दोलन र त्यसपछि देखिएका नयाँ राजनीतिक शक्तिहरूप्रति लक्षित गर्दै उहाँले विचार र सिद्धान्तका आधारमा हुने स्वस्थ प्रतिस्पर्धाले नै लोकतन्त्रलाई बलियो बनाउने धारणा राख्नुभयो । उहाँले एमालेको बलियो संगठन र विगतमा गरेका विकास निर्माणका काम नै आफ्नो जितको मुख्य आधार भएको दाबी समेत गर्नुभयो ।
विगतका निर्वाचनहरूमा पनि काठमाडौँ–५ बाटै चुनावी प्रतिस्पर्धा गर्दै आउनुभएका पोखरेलका लागि यस पटकको निर्वाचन भने केही भिन्न र चुनौतीपूर्ण हुने आकलन गरिएको छ । नयाँ पुस्ताको बढ्दो राजनीतिक चासो र वैकल्पिक शक्तिहरूको सक्रियताका बिच पोखरेलले आफ्ना एजेन्डाहरूलाई मतदातामाझ कसरी लैजानुहुन्छ भन्ने विषयलाई निकै महत्त्वका साथ हेरिएको छ । निर्वाचन आयोगले तोकेको मनोनयन दर्ताको अन्तिम दिन भएकाले पोखरेलका साथमा एमालेका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।















