सिन्धुली । प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ताको अन्तिम दिन सिन्धुली क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र ठूलो राजनीतिक पराकम्प गएको छ ।
पार्टी केन्द्रले स्थानीय सिफारिसलाई लत्याउँदै लेखनाथ दाहाललाई टिकट सुम्पिएपछि रुष्ट बनेको जिल्ला नेतृत्वले वरिष्ठ पत्रकार एवं बौद्धिक नेता महेश्वर दाहाललाई विद्रोही उम्मेदवारका रूपमा मैदानमा उतारेको हो । केन्द्रको निर्णयलाई चुनौती दिँदै मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर महेश्वरले मनोनयन दर्ता गरेसँगै सिन्धुलीमा नेकपा दुई धारमा विभाजित भएको प्रष्ट देखिएको छ ।
यो विद्रोह केवल एक व्यक्तिको उम्मेदवारीमा मात्र सीमित छैन, यसले पार्टीभित्रको गहिरो आन्तरिक कलह र केन्द्र भर्सेस जिल्लाको द्वन्द्वलाई सतहमा ल्याइदिएको छ । उम्मेदवारी दर्ताका क्रममा महेश्वरको पछि लागेका नेताहरूको सूचीले सिन्धुलीको राजनीतिलाई नै अचम्मित तुल्याएको छ । पार्टीका प्रभावशाली नेताहरू हरिबोल गजुरेल, वसन्त माझी, पनीराज बम्जन र विनोद विक जस्ता हस्तीहरूले खुला रूपमा विद्रोही उम्मेदवारलाई काँध थापेका छन् । जिल्ला तहका यी नेताहरूले केन्द्रले थोपरेको उम्मेदवार लेखनाथ दाहाललाई अस्वीकार गर्दै महेश्वर दाहाल नै जिल्लाको वास्तविक र आधिकारिक प्रतिनिधि भएको घोषणा गरेका छन् ।
निर्वाचनको मुखमा भएको यो शक्ति सङ्घर्षले सिन्धुली–२ को चुनावी परिणामलाई निकै रोचक र अनिश्चित बनाइदिएको छ। एकै विचारधाराका दुई सशक्त उम्मेदवार मैदानमा हुँदा नेकपाको पारम्पारिक भोट बैंक विभाजित हुने निश्चित छ, जसको प्रत्यक्ष फाइदा विपक्षी दलहरूलाई पुग्न सक्ने राजनीतिक विश्लेषकहरूको ठम्याइ छ । जनयुद्धकालदेखि नै वैचारिक नेतृत्व सम्हाल्दै आएका महेश्वर र केन्द्रको भरोसा पाएका लेखनाथबीचको यो भिडन्तले आगामी फागुन २१ को निर्वाचनमा कसको पल्ला भारी हुने हो भन्ने कुराले सिन्धुली मात्र नभई राष्ट्रिय राजनीतिमै चर्चा पाएको छ ।















