Logo

६ माघ, काठमाडौं । पूर्वगृहमन्त्री एवं प्रभावशाली नेता जनार्दन शर्माले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुकुम पश्चिमबाट आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।

मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उहाँले यसपटक प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट औपचारिक रूपमा उम्मेदवारी दर्ता गराउनुभएको हो। विगत दुई दशकदेखि माओवादी आन्दोलनको कमाण्ड सम्हाल्दै आउनुभएका शर्माले यसपटक आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल गठन गरी चुनावी मैदानमा उत्रिने निर्णय गरेसँगै जिल्लाको राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनदेखि रुकुममा अपराजित विरासत बनाउनुभएका शर्मा यसअघि तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट निरन्तर विजयी हुँदै आउनुभएको थियो । उहाँले पटक–पटक सरकारमा महत्त्वपूर्ण मन्त्रालयहरूको जिम्मेवारी सम्हालेर राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव स्थापित गरिसक्नुभएको छ। तर, यसपटक माओवादी केन्द्रसँगको पुरानो सम्बन्धलाई तोडेर नयाँ झण्डा र नयाँ चुनाव चिह्नका साथ उहाँ आफ्नै लालकिल्लामा अग्निपरीक्षा दिन तयार हुनुभएको छ। नयाँ दल गठन गरेर चुनावमा होमिएपछि उहाँका पुराना समर्थक र नयाँ मतदाताहरूमा निकै उत्सुकता देखिएको छ।

उम्मेदवारी दर्ताका क्रममा ठूलो संख्यामा उपस्थित कार्यकर्ताहरूलाई सम्बोधन गर्दै शर्माले रुकुमको विकास र जनताको अधिकारका लागि आफू नयाँ सोच र ऊर्जाका साथ अघि बढेको बताउनुभयो । निर्वाचन आयोगले तोकेको मनोनयनको अन्तिम दिन भएकाले मंगलबार रुकुममा चुनावी माहोल निकै तातिएको थियो ।

माओवादीको गढ मानिने यस क्षेत्रमा जनार्दन शर्माले आफ्नै नेतृत्वको दलमार्फत कस्तो प्रदर्शन गर्नुहुन्छ र उहाँको विरासत कायम रहन्छ कि रहँदैन भन्ने विषयले यतिबेला राष्ट्रिय राजनीतिमै ठूलो चर्चा पाएको छ।


सम्बन्धित समाचार