Logo

६ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि चितवन क्षेत्र नम्बर २ बाट वारेसमार्फत आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।

सहकारी ठगी र सङ्गठित अपराधको मुद्दामा पर्सा जिल्ला अदालतमा जारी कानुनी प्रक्रियाका कारण लामिछाने आफैँ निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित हुन नसकेपछि वारेसनामा मार्फत उम्मेदवारी दर्ता गरिएको हो । लामिछानेको तर्फबाट रास्वपाका भरतपुर महानगर संयोजक सीता ज्ञवालीले मनोनयन पत्र दर्ता गराउनुभएको हो ।

सहकारी प्रकरणमा पर्सा अदालतले १ करोड रुपैयाँ धरौटी माग गरेसँगै कानुनी औपचारिकता पूरा गर्नुपर्ने भएकाले लामिछाने मंगलबार चितवन पुग्न सक्ने अवस्था थिएन । तर, निर्वाचन कानुनले दिएको सुविधा प्रयोग गर्दै उहाँले आफ्नो निर्वाचन क्षेत्रमा प्रतिनिधि पठाएर मनोनयनको प्रक्रिया पूरा गर्नुभएको छ। लामिछानेको उम्मेदवारीको प्रस्तावकमा विक्रम श्रेष्ठ र समर्थकमा रामजी ठकुरी रहनुभएको छ । मनोनयन दर्तापछि संयोजक ज्ञवालीले सभापति लामिछाने कानुनी घेराभित्र रहे पनि जनताको अपार माया र विश्वासका कारण पुनस् चुनावी मैदानमा होमिएको बताउनुभयो ।

चितवन–२ लामिछानेको पुरानो निर्वाचन क्षेत्र मात्र नभई उहाँका लागि राजनीतिक रूपमा निकै प्रतिष्ठाको क्षेत्र पनि हो । पछिल्लो समय अदालती उल्झन र विभिन्न अभियोगका कारण चर्चामा रहनुभएका लामिछानेले वारेसमार्फत उम्मेदवारी दिएर आफ्नो चुनावी अभियानलाई निरन्तरता दिनुभएको छ । मनोनयन दर्ताको अन्तिम समयमा आएको यो घटनाक्रमले चितवनको चुनावी सरगर्मीलाई थप बढाएको छ भने लामिछानेका समर्थकहरूले उहाँको अनुपस्थितिमा पनि उत्साहजनक रूपमा मनोनयनको समर्थन गरेका छन् ।


सम्बन्धित समाचार